arrow

कांग्रेसभित्र विशेष महाधिवेशनको माग सशक्त

असन्तुष्ट पक्षद्वारा काठमाडौंमा छुट्टै भेला आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
congress-bises-.jpg

काठमाडौँ। नेपाली कांग्रेसभित्र लामो समयदेखि असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरूको विशेष महाधिवेशन पक्षधर समूहले आज काठमाडौँको नयाँबानेश्वरस्थित थापागाउँमा छुट्टै भेला आयोजना गरेका छन्। पार्टीभित्र देखिएको असन्तुष्टि, सङ्गठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएका कारण असन्तुष्ट समूहले यो कदम चालेको हो।

भेलामा विशेष महाधिवेशनका पहलकर्तासहित देशभरका महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेशस्तरका नेताहरू, क्षेत्रीय प्रतिनिधि तथा असन्तुष्ट कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भेलामा नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टी नेतृत्वले सङ्गठनका महत्वपूर्ण निर्णयहरूमा लामो समयदेखि ध्यान नदिएको आरोप लगाउँदै कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताए। उहाँले "कांग्रेसको ऐतिहासिक भूमिकालाई सशक्त बनाउन र पार्टीभित्रको असन्तुष्टिलाई समाधान गर्न अब विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन" भने।

चालिसेका अनुसार, केन्द्रीय कार्यसमितिले पछिल्लो बैठकबाट १५औँ महाधिवेशनबारे कुनै ठोस निर्णय गर्न नसकेपछि, विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते देशभरका दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। सो मागपत्रमा पार्टीको वैचारिक दिशानिर्देश, सङ्गठन पुनर्गठन, आन्तरिक लोकतन्त्र र नेतृत्वको जवाफदेहिताको प्रश्न उठाइएको छ।

आजको विशेष भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसी, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी र प्रतिमा गौतमलगायतका नेताहरूले पार्टीभित्रको सुधार र सङ्गठन सुदृढीकरणका लागि तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन्। वक्ताहरूले वर्तमान पार्टी नेतृत्वले सङ्गठनभित्र देखिएका असन्तुष्टि, गुटबन्दी र निर्णय प्रक्रियामा पारदर्शिताको कमीलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै पार्टीलाई पुनर्जीवित गर्न सबै कार्यकर्तालाई एकजुट हुन आह्वानसमेत गरेका छन्।

यसैबीच, असन्तुष्ट पक्षको भेला चलिरहँदा आजै ललितपुरको सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक पनि बसिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ