काठमाडौँ। 'सुनामी तयारीमा लगानी गरौँ' भन्ने नाराका साथ आज जापानलगायत विश्वका तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ। यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई महत्त्वपूर्ण रूपमा जोड दिएको छ। स्मरण रहोस्, समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ लाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन सुरु गरिएको हो। जापानको प्रस्तावमा सुरु भएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि नवीन अभ्यास र ज्ञान आदानप्रदानलाई विशेष जोड दिँदै आएको छ।
राष्ट्रसङ्घका अनुसार, अघिल्लो शताब्दीमा ५८ ठूला सुनामीले दुई लाख ६० हजारभन्दा बढी मानिसको ज्यान लिएका थिए, जसमध्ये सन् २००४ को हिन्द महासागर सुनामीमा धेरैले ज्यान गुमाएका थिए। त्यसपछि जापानको ह्योगो क्षेत्रमा सम्पन्न कोबे सम्मेलनले १० वर्षे 'ह्योगो कार्ययोजना' अङ्गीकार गरी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी ढाँचा तयार पारेको थियो, जसलाई 'सेन्डाइ फ्रेमवर्क' भनिन्छ।
सेन्डाइ फ्रेमवर्कको मुख्य उद्देश्य प्राकृतिक विपद्बाट हुने मृत्यु, प्रभावित जनसङ्ख्या, आर्थिक क्षति र महत्त्वपूर्ण पूर्वाधारमा पर्ने असरलाई घटाउनु हो। यस ढाँचाले सरकार, समुदाय, वैज्ञानिक र नागरिक समाजबीच सहकार्य गरेर सुरक्षित एवं दिगो भविष्य निर्माणमा मद्दत गर्छ।