काठमाडौँ । जापानको मुद्रास्फीति–समायोजित वास्तविक ज्याला (रियल वेज) मा गत अप्रिल महिनामा १.९ प्रतिशतले वृद्धि भएको छ। हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार त्यहाँको वास्तविक ज्यालामा लगातार चौथो महिना सुधार देखिएको हो।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार कामदारको आधारभूत तलब र ओभरटाइम भत्तासहितको औसत मासिक नगद आम्दानी अर्थात् नोमिनल वेज ३.५ प्रतिशतले बढेर ३,१२,४२५ येन पुगेको छ, जुन करिब १,९०० अमेरिकी डलर बराबर हो। ज्याला वृद्धिदर ३ प्रतिशतभन्दा माथि रहेको यो लगातार तेस्रो महिना हो। तथ्याङ्कअनुसार मुख्यतया आधारभूत तलब समावेश हुने नियमित तलब ३.४ प्रतिशतले वृद्धि भई २,७७,९१६ येन पुगेको छ।
ज्यालामा सुधार देखिए पनि अर्कोतर्फ जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको छुट्टै तथ्याङ्कले अप्रिल महिनामा घरायसी खर्चमा भने वास्तविक रूपमा ०.५ प्रतिशतले गिरावट आएको देखाएको छ। दुई वा सोभन्दा बढी सदस्य भएका घरपरिवारले यस अवधिमा औसतमा ३,२८,९६९ येन खर्च गरेका छन्।
खर्चको विवरणअनुसार निरन्तरको मुद्रास्फीतिका कारण खाद्य तथा पेय पदार्थको खर्चमा ०.६ प्रतिशतले कमी आएको छ। त्यस्तै कपडा तथा जुत्ताको खर्चमा १०.९ प्रतिशतको ठुलो गिरावट आएको छ भने ऊर्जा खपतमा कमी आएका कारण उपयोगिता शुल्क (यूटिलिटी बिल) मा पनि ८.६ प्रतिशतले गिरावट आएको छ।
जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा निजी उपभोगको हिस्सा आधाभन्दा बढी रहने भएकाले यी तथ्याङ्कहरूलाई देशको आर्थिक स्वास्थ्यको प्रमुख सूचकका रूपमा लिने गरिन्छ। ज्याला वृद्धि भए पनि नागरिकहरूले उपभोगमा नियन्त्रण गर्दा आन्तरिक बजार अझै पूर्ण रूपमा चलायमान हुन नसकेको अर्थविद्हरूको विश्लेषण छ।