arrow

कांग्रेसको पार्टी महाधिवेशनपछि मात्र निर्वाचन

logo
अमृत अर्याल, 
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
amrit-aryal-nc-20-07-082.jpg

खासगरी पूर्ण दाइ (पूर्णबहादुर खड्का) यो कठिन परिस्थितिमा उभिनुभएको छ, हामीले आशा गर्दै आएका थियौँ, पूर्णदाइको विगत हेर्दा हामीले केन्द्रीय सदस्यबाट उभिएर सहमहामन्त्री, महामन्त्री, उपसभापति हुँदै अहिले कार्यवाहक सभापतिको भूमिका निर्वाह गर्नुभएको छ । 

समग्र नेपाली कांग्रेसको परिस्थितिलाई मूल्यांकन गर्ने क्षमता पूर्ण दाइमा छ । अहिले हामी बीचमा देखिएका अन्तर कलह, हाम्रो बीचमा विभेद देखिएको छ, एउटा पक्ष अधिवेशन नै नगराउने र एउटा पक्ष अहिल्यै गर्नुपर्छ भन्ने पक्ष देखिएको छ । यस बीचमा पूर्ण दाइले समाधानको बोटो खोज्नुहुन्छ भन्ने लागेको छ । 

दाइको लामो राजनीतिक अनुभव र योगदानले यो समस्या लामो जाँदैन भन्ने लागेको छ । मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै जेन–जीले आन्दोलन गर्यो । यसमा भदौ २३ को शान्तिपूर्ण आन्दोलनमा अनायासै गोली चलाइयो र दुई दर्जन बढी विद्यार्थी मारिए । सहादत प्राप्त गर्नेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । 

भदौ २४ मा पार्टी सभापतिमाथि आक्रमणसहित देशका सबै ठाउँमा आगजनी भो । लुटपाट भोे । देशलाई आक्रान्त बनाउने प्रयास भो । त्यो घटना किन हो, कसरी भो हामी यसमा दोषी छौँ कि छैनौँ भन्ने एउटा पार्टमा छ । ०६२–०६३ आन्दोलन अघि एउटा स्टेटमेन्ट आयो, त्यो बेला गिरिजाबाबु हुनुहुन्थ्यो पार्टी सभापति, उहाँ विराटनगर हुनुहुन्थ्यो । उहाँले कहिले राजालाई स्थान दिनुपर्छ भन्नुहुन्थ्यो । उहाँले कहिले बेबी किंग त कहिले संवैधानिक राजतन्त्रको कुरा गरिरहनुहुन्थ्यो । 

यही बीचमा नरहरि आचार्य, गगन थापा र गुरु घमिरेको गणतन्त्रका लागि हामी तयार रहनुपर्छ भन्ने स्टेटमेन्ट आयो । मलाई अचम्म पनि लाग्यो । हामी सेरोमेनियल र बेबी किंगको कुरा गरिरहेका बेलामा गणतन्त्रमा जाने मुद्धा लिएर उहाँहरू अघि बढ्नुभयो । कत्तिको राम्रो हो या होइन भन्ने बहस चलिरहेको थियो । त्यही बेला कुन्दन काफ्लेले पशुपति क्याम्पसमा जनमत संग्रह जस्तो गरे । 

राजतन्त्र र गणतन्त्रको पक्षमा जनमत संग्रह थियो त्यो । गणतन्त्रका पक्षमा ९९ प्रतिशत मत आयो भनेर बेस्सरी चर्चा चुलियो । देशभरि गणतन्त्रको माहोल सिर्जना भयो । कालान्तरमा हामी गणतन्त्रमै जाने अवस्था आयो । सानै पुस्ताले उठाएको माग त्यो बेला सही थियो भन्ने पुष्टि भयो । 

गगनजी र विश्वजीले सोसल मिडिया बन्द गर्नु हुँदैन भन्ने विषयमा पार्टी सभापतिलाई ध्यानाकर्षण गराउनु भएको थियो, सामाजिक सञ्जालमै आपत्ति जनाउनु भएको थियो । त्यसबेला शेखरजी चीनमा हुनुहुन्थ्यो । त्यो बेला सभापतिबाट त्यो कुरा सुनुवाई किन भएन भन्ने कुरा अहिलेसम्म बाहिर आएन, त्यो जानकारी हामीलाई गराइएन । सोसल मिडिया खोल्न लगातार दबाब दिए पनि सफल भएन । २३ गते गोली चलेपछि हामी सरकारबाट बाहिरिन दबाब दिइयो तर त्यो पनि सफल हुन सकेन । 

पछिल्लो समय हाम्रो पार्टीको विडम्बना रह्यो, गत चुनावमा माओवादी लगायतसँग गठबन्धन गर्यौँ । माओवादीसँग गठबन्धन गर्दा कांग्रेस ठूलो दल त बन्यो तर हाम्रा कार्यकर्ता उम्मेदवार बन्नबाट बञ्चित भए, लाखौँ कार्यकर्ताले पार्टीको निर्णयविरुद्ध माओवादीलाई भोट दिन मानेनन् । 

त्यसले पार्टीमा राम्रो म्यासेज गएको थिएन, कुण्ठा बढेको थियो । र, हामीले प्रचण्डजीलाई जिताएर पठायौँ तर प्रचण्डजीले एमालेसँग गठबन्धन गरेर सरकार बनाउनु भयो । त्यस लगत्तै हाम्रो विमत्ति रह्यो । त्यसबाट पृथक भएर बाहिर बस्यौँ । 

यही बीचमा महामन्त्रीजीहरूले कांग्रेस पाँच वर्ष नै प्रतिपक्षमा बस्न तयार हुनुपर्छ भन्ने अभिव्यक्ति दिनुभयो । केही महिनामै प्रचण्डजीलाई समर्थन गरेर सरकारमा पनि गयौँ । 

फेरि केही महिनामै प्रचण्डजीलाई छाडेर एमालेसँग गयौँ । एमालेसँग सहकार्य गरेर सरकारमा गयौँ । हाम्रो यो आतुरताले झन् यो घटनालाई बिगारेको जस्तो लाग्छ । यही बीचमा तनहुँ र इलाममा उपनिर्वाचन भयो । तनहुँ त हामीले जितेको क्षेत्र थियो । इलाममा थोरै मतले तल थियौँ । पछिल्लो चरणमा हाम्रो सत्तालोलुपताले दुवै क्षेत्र गुमायौँ । सबै तागत लगाउँदा पनि सकेनौँ । 

यी घटनाको सबै जिम्मेवारी कांग्रेस केन्द्रीय समितिले लिनुपर्छ भन्ने लागेको छ । हामी सच्चिने अवसर पनि यही हो । यही बेला हामीले सच्चिनका लागि विगतमा गरेका क्रियाकलापले जनतामा राम्रो प्रभाव पारेको छैन भन्ने लागेको छ र आत्मसमीक्षा गर्नुपर्छ ।

हाम्रा नेता कृष्ण सिटौलाले यही बैठकमा दिनु भएको अभिव्यक्तिले आश्चर्य लाग्यो । उहाँ राजनीतिको गुरु नै हो । उहाँकै प्रयासमा माओवादीसँगको सम्झौता, हतियार व्यवस्था र राजालाई निर्मल निवास पुर्याउन पनि भूमिका कृष्ण दाइले खेल्नुभो । तर पार्टीको महाधिवेशनबारे समूहगत छलफल भइरहेका बेला कृष्ण दाइको अभिव्यक्ति ठीक छैन । 

महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेकामा कृष्णदाइले आपत्ति जनाउन मिल्दैन । उहाँले महाधिवेशन र विशेष महाधिवेशन हुन सक्दैन, वैशाख अघि महाधिवेशन हुन सम्भव छैन भनेर गलत अभिव्यक्ति दिनु भएको छ । उहाँले विशेष महाधिवेशन छैन भनेर अभिव्यक्ति दिँदै गर्दा अब चुनावमा के भनेर जाने हो भन्ने जवाफ उहाँसँग छ ? यो परिवर्तनलाई आत्मसात् नगरी जनतामा जान सक्ने कुनै आधार छैन । त्यसैले पहिला पार्टी महाधिवेशन त्यसपछि मात्र निर्वाचन होमिनुपर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ