महाधिवेशन विवाद नसल्टिँदा कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
3.3k
Shares
काठमाडौँ। नेपाली कांग्रेसको विगत लामो समयदेखि बसिरहेको केन्द्रीय समितिको बैठक आज पनि जारी छ। बैठकमा नेताहरूले राष्ट्रिय निर्वाचन, महाधिवेशन र संसद पुनःस्थापना लगायतका राजनीतिक तथा समसामयिक विषयवस्तुमा आफ्ना धारणा राखिरहेका छन्। पार्टी नेतृत्वले आज बैठकलाई सम्पन्न गर्ने तयारी गरे पनि विवादित विषयमा सहमति जुट्न सकेको छैन।
विशेषगरी, बैठकमा विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर बीच चर्को मतान्तर देखिएको छ। नियमित महाधिवेशन तोकिएको समयमा हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडान अधिकांश नेताहरूले राख्दै आएका छन्। तर, पार्टीको संस्थापन पक्षका नेताहरूले भने विशेष महाधिवेशन हुन नसक्ने भन्दै त्यसको विपक्षमा आफ्नो धारणा राखेका छन्।
पार्टीका नेताहरूले आ-आफ्नो धारणा राखिसकेपछि आजै विवादित विषयमा सहमति जुटाएर बैठकको औपचारिक निर्णय सार्वजनिक गर्ने प्रयास भइरहेको बुझिएको छ।