arrow

नेपाल ट्रष्टको जग्गा अनियमिततामा अवकाशप्राप्त सहसचिव पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
nepal-trust2.jpg

काठमाडौँ। नेपाल ट्रष्टको कार्यालय, दरबारमार्ग, काठमाडौँमा सहसचिव पदमा कार्यरत (हाल अवकाशप्राप्त) लेखबहादुर कार्की ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका छन्। उनी चितवनको भरतपुर महानगरपालिका–१५ बस्ने ६६ वर्षका हुन्।

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नियत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, कार्कीको संलग्नतामा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा भएको लिज करार सम्झौतामा ठूलो अनियमितता भएको पाइएको छ। विसं २०७४ जेठ १४ गते भएको उक्त सम्झौतामा सञ्चालक समितिको निर्णय र आधारविना बदनीयतपूर्वक सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थपगरी लिजमा दिइएको थियो। नेपाल ट्रष्टका नाममा रहेको जग्गा बोट मोडलका लागि निर्माण अवधि तीन वर्षसमेत तोकी ३० वर्षका लागि लिजमा दिने/लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानिनोक्सानी पुर्‍याइएको पाइएको हो।

सीआईबीले आज सार्वजनिक गरेको विवरणमा नेपाल ट्रष्टको जग्गा लिजमा लिने लाभग्राहीले सहयोग गर्ने अधिकारी, सरकारी कर्मचारी तथा अन्य सहयोगीहरूले गैरकानुनी तवरले लाभ लिइ ठगी तथा आपराधिक विश्वासघात गरेको र यसबाट नेपाल राष्ट्रलाई नै ठूलो हानिनोक्सानी पुर्‍याएको उल्लेख छ। एसएसपी श्रेष्ठले सोही कसुरमा कार्कीलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान थालिएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ