यस पटकको बैठक पार्टीभित्र फरक दृष्टिकोण राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ तर निन्दा गर्न र चेतावनी दिन पाइँदैन, किनकी हामी एउटै परिवारका मान्छे हौँ। धेरै आरोपप्रत्यारोप भए । आजका दिनमा पार्टीले विशेष महाधिवेशन र निर्वाचनका विषयमा आम नागरिकको भावना पत्रकारसँग संवाद गर्नुपर्ने, वकील, बुद्धिजीवी र सरोकारवालासँग निर्वाचन र संविधानका विषयमा संवाद गर्नुपर्नेमा त्यसो हुन सकेन ।
नेपाली कांग्रेस पार्टीको बैठक यति लामो लम्बिनु राम्रो होइन, यसमा सभापतिज्यूले राम्रोसँग गम्भीरतापूर्वक बुझिदिन आवश्यक छ । कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी केही गम्भीर कुराहरू पार्टीको शाख गिर्नेगरी बाहिर आएका छन् । पार्टीको १४औँ महाधिवेशनमा हालका कार्यवाहक सभापति पूर्णबहादुर खड्का आफै संयोजक रहेको विधान संशोधन समिति थियो । क्रियाशील सदस्यता छानविनसम्बन्धी पहिलो पटक महामन्त्रीको संयोजकत्वमा सदस्यता व्यवस्थापन समिति गठन गर्ने व्यवस्था पार्टी विधानको धारा ४ (९) मा । पार्टी सभापतिज्यूले २०८० को अन्तिमतिर महामन्त्री गगनकुमार थापाज्यूको संयोजकत्वमा म प्रकाश स्नेही र योगेन्द्र चौधरीसहित तीन जना थियौँ । हामीले कार्यतालिकै बनाएर तल सबै तहमा पठायौँ । छ पटक हामीले कार्यतालिका बनाएर पठायौँ । तर १०० दिने अभियानमा यसको चर्चा गरिएको थियो ।
म सबै पदाधिकारीलाई आग्रह गर्न चाहन्छु कोही पनि गुट र उपगुटमा नलागौँ । तपाईंहरूले भनेकै हो नि, महाधिवेशन हुँदैन क्रियाशील सदस्यता नवीकरण नगरौँ ।
तपाईंहरूको जिल्लामा क्रियाशील सदस्यताको अवस्था कस्तो छ ? तपाईंको जिल्लामा पार्टी सभापति तपाईंकै मान्छे, क्षेत्रीय सभापति तपाईंकै मान्छे, वडा सभापति तपाईंकै मान्छे । कसैले सदस्यता नवीकरण गरेन भने कार्वाही अधिकारी हाम्रो समितिले कार्वाही गर्ने अधिकार दियो ? अनि महामन्त्रीले काम गरेन, समितिका सदस्यले काम गरेन भन्दै मुख्यसचिवको ३६ पटक ताकेता फोन आएको छ । ३३० वटा प्रदेश क्षेत्र र १६५ संघीय निर्वाचन क्षेत्रले काम गर्दैनौँ भनेका छन्। १३औँ र १४औँ महाधिवेशनमा भएको क्रियाशील सदस्यता विवाद निर्क्यौल नभएसम्म काम गर्दैनौँ भने । स्वयं कार्यबाहक सभापतिको जिल्लामा पनि क्रियाशील सदस्यता नवीकरणको काम गरेनन् । आजको दिनमा पार्टीको ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएका छन्। २८ प्रतिशत सदस्य अन्यत्रै जाने तयारीमा छन् ।
अझै पनि २३८ ओटा वडामा क्रियाशील विवाद छ । मुख्य नेताका जिल्लामा क्रियाशील सदस्यता नवीकरण किन भएन ? यसमा ध्यान दिनुपर्दैन, जवाफ दिनुपर्दैन ? क्रियाशील सदस्यता नवीकरण उत्सवले गर्नु पर्ने होइन ?
हामीले १४औँ महाधिवेशनमा पनि ७२ प्रतिशत नै सदस्यता नवीकरण भएको थियो । १५औँ अहिल्यै ७२ प्रतिशत सदस्यता नवीकरण भएको छ । आठ ओटा जिल्लामा आगलागी भएको छ । काभ्रे, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाका अभिलेख केन्द्रमा हेर्नुपर्नेछ, जिल्लाले त्यसको अभिलेख हेर्दै छ । गत निर्वाचनमा अन्तरघात भएका कारणले र उजुरी परेकाले त्यहाँ विवाद भएका छन् । अनुशासन समितिले निर्णय नगरिसकेका ठाउँमा केन्द्रमा उजुरी परे पनि अर्को निर्णय नभएसम्मका लागि क्रियाशील सदस्यता नवीकरण गर्नू भन्ने निर्देशन दिइएको छ । पार्टीको क्रियाशील सदस्य नवीकरण भएन, पार्टीमा मान्छे छैनन्, महामन्त्रीले पार्टी सक्कायो भनेर हुइँय्या फैलाउनु विडम्बना हो ।
कांग्रेसको परम्परा
यसअघि महामन्त्रीको संयोजकत्वमा क्रियाशील छानविन समिति बन्दैनथ्यो । महाधिवेशनको कार्यतालिका आउँथ्यो । क्रियाशील सदस्यता पठाउँथ्यौँ । अनि जहाँ जहाँ विवाद आउँथ्यो अनि छानविन समिति बन्थ्यो । छानविन समितिले विवाद निरुपण गर्थ्यो अनि अघि बढ्थ्यो । अहिले त विवाद व्यवस्थापन समिति त बनेको हो । प्रवक्ता डा. प्रकाशरण महतज्यूले बैठकमै छानविन समिति निर्माण गर्नुपर्छ भनेको कुरा बाहिर नै आयो । क्रियाशील सदस्यता समस्या भएकाले महाधिवेशन गर्न सक्दैनौँ भन्ने अवस्था सिर्जना गर्नु उपयुक्त होइन । वर्तमान राजनीतिक अवस्था र कार्यकर्ताको भावनालाई कुल्चिने काम नगरौँ । हामी सबैले चाह्यौँ भने १५ दिनमै क्रियाशील सदस्य टुंगो लगाउन सकिन्छ । अहिले त पार्टी सिध्यायो गगन थापाले, सिध्यायो प्रकाश स्नेहीले, सिध्यायो सीता गुरुङ र योगेन्द्र चौधरीले भनेर प्रचार गरिएको छ । यो कुरालाई महत्वका साथ बुझौँ ।
जेनजी पुस्ताका सन्दर्भ
कांग्रेसको क्रियाशील सदस्य आठ लाख ८९ हजार हो । यसमध्ये हाम्रो शक्ति १० प्रतिशतमात्रै हो । ९० प्रतिशत राजनीति सामाजिक सञ्जालले गर्न थाल्यो । सामाजिक सञ्जाललाई सशक्त र प्रभावकारी बनाउन सकिएन भने कांग्रेस लोपोन्मुख पार्टी हो । यो कुरा मैले पटक पटक भन्दै आएको छु । अझै पनि जेनजीले चाहे भने सामाजिक सञ्जालमार्फत देशका महत्वपूर्ण शहर आधा घण्टामा कब्जा गर्न सक्छन् । त्यसैले जेनजी पुस्ताका भावना नबुझिकन, त्यो आन्दोलनबाट भएका क्षतिमात्र होइन, त्यो आन्दोलनले अघि सारेका एजेण्डा सुशासन, सामाजिक सञ्जाल र उच्च नेताको राजनीतिक सम्माजनक बिदाई गर्नेछ, त्यो हामीले नगरी हुँदैन ।
अन्त्यमा, १३औँ महाधिवेशको विधान संशोधन समिति संयोजक कृष्णप्रसाद सिटौला र १४औँमा पूर्णबहादुर खड्का हुनुहुन्थ्यो । तपाईंहरूले पार्टीको धारा १७(२) पार्टी विभाजन हुन्छ भन्ने धारा किन हटाउनु भएन ? जुन देशका नागरिकले संविधानको अभ्यास गर्न पाउँदैनन, जुन पार्टीका कार्यकर्ताले आफ्नो पार्टीको विधानको अभ्यास गर्न पाउँदैनन् भने लोकतान्त्रिक पार्टी कसरी भयो ? त्यो संविधान कसरी लोकतान्त्रिक हुन्छ ? २०१४ सालमा सुवर्ण शम्सेर र बीपीले गर्नु भएको थियो । त्यसपछि त विशेष महाधिवेशनको व्यवस्था गरिएको छ त । यो विशेष महाधिवेशनलाई एकता र हार्दिकताको महाविधेशन बनाउन आवश्यक छ । यसमा असन्तुष्टि जनाएका साथीलाई सँगै लिएर अघि बढ्नुपर्छ । सकिन्छ नियमित महाधिवेशन गरौँ, सकिन्न विशेष महाधिवेशन भए पनि गर्नैपर्छ, पार्टीलाई निकास दिनै पर्छ । अनि सबै एकतावद्ध साथ पार्टी र देशको चुनौतीको सामना गर्दै निर्वाचिनमा होमनुपर्छ ।
जेनजीको परिवर्तनको भावना अझै सकिएको छैन । जनता धेरै बाठा भइसके । नेताभन्दा कार्यकर्ता बाठा, कार्यकर्ताभन्दा जनता बाठा छन्, कसैलाई छोड्ने अवस्था छैनन् । कांग्रेसले परराष्ट्र नीति सन्तुलन बनाएको छैन, यसमा केन्द्रीय नेताहरू एक ठाउँमा बसेर समस्या समाधान गर्नुपर्छ । सबै नेताहरूलाई आफ्नो जिल्ला, क्षेत्र र वडामा क्रियाशील सदस्यता नवीकरण नरोक्नुस् भन्न चाहन्छु।
(नेता स्नेहीले कांग्रेस केन्द्रीय समिति बैठकमा राखेकाे धारणा)