यस वर्षको मनसुन: औसतभन्दा कम वर्षा, जनधनको क्षति तीन गुणा कम
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
756
Shares
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को तथ्याङ्क अनुसार, गत वर्ष २०८१ को तुलनामा यस वर्ष (२०८२ को मनसुन अवधिमा) जनधनको क्षतिमा उल्लेख्य कमी आएको छ। मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारले एकीकृत रणनीति अवलम्बन गरेकाले क्षति कम भएको अनुमान गरिएको छ।
गत वर्ष २,१३९ वटा विपद् घटना भएकामा यस वर्ष १,४५४ वटा घटना भए। मानवीय क्षतिमा पनि ठूलो कमी आएको छ; गत वर्ष ४९५ जनाको निधन भएकोमा यस वर्ष १४० जनाको ज्यान गएको छ। यसैगरी, गत वर्ष १०,८२३ घरपरिवार प्रभावित भएकामा यस वर्ष ५,९९५ घरपरिवार प्रभावित भएका छन्, भने बेपत्ताको सङ्ख्या ६६ बाट घटेर ३० पुगेको छ।
यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म अर्थात् १३५ दिन रह्यो, जुन २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेर असोज २४ गते बाहिरिएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा सरदरको तुलनामा ९७.२३ प्रतिशत (१,३७५.४ मिलिमिटर) वर्षा भएको थियो।
यस वर्ष भएका कुल विपद् घटनामध्ये पहिरोका ५१३ घटनामा ६७ जनाको मृत्यु र ७७ जना घाइते भए। बाढीका २९२ घटनामा ३७ जनाको मृत्यु र २६ जना बेपत्ता भए। चट्याङमा परेर २९ जनाले ज्यान गुमाए भने १८९ जना घाइते भए।
मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो। मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भयो, जहाँ मात्रै ३९ जनाको ज्यान गएको थियो। सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
रसुवाको भोटेकोशीमा असार २४ गते गएको बाढीका कारण मितेरी पुल बग्नुका साथै सुक्खा बन्दरगाह, तीन वटा जलविद्युत् आयोजनामा अर्बौको क्षति भयो र १८ जना बेपत्ता भए।
मनसुनको सुरुवातमा मधेस प्रदेश सुक्खाको समस्याबाट प्रभावित भएपछि सरकारले गत साउन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
प्राधिकरणका अनुसार, मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रूपमा परिचालन गरेका कारण यस वर्ष क्षति कम भएको अनुमान गरिएको छ।