arrow

राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै 

ब्याजदर बोलकबोलबाट निर्धारण हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । दशैँ र तिहारपछि पनि वित्तीय प्रणालीमा निरन्तर अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ। हाल कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

राष्ट्र बैंकले आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको छ र यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख २३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। केन्द्रीय बैंकले यही व्यवस्था टेकेर पटक-पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ