नोबेलको घोषणा : वार्षिक १० लाखको अनुसन्धान अनुदान, स्वास्थ्य अनुसन्धानकर्ताले लिन सक्ने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
799
Shares
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ ।
विशेषतः अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धानकर्ताहरुको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अनसन्धान इकाईको स्थापना र अनुदानको प्रवन्ध गरेको नोबेलले जनाएको हो ।
बुधबार नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनीलकुमार शर्मा र उनकी धर्मपत्नी इन्दिरा शर्मा बरालले संयुक्त रुपमा अनुसन्धान इकाईको उद्घाटन गरेका थिए ।
नोबेलकी बोर्ड सल्लाहकार सोइना शर्मा, नोबेलका पदाधिकारीहरू, विभिन्न विभागका सदस्यहरू, अनुसन्धान इकाईका पदाधिकारीहरू र कर्मचारीहरूको उपस्थितिमा भएको कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा. डा. गेहनाथ बरालले नोबेलले स्वास्थ्य उपचारको क्षेत्रमा एक उचाई प्राप्त गरिसकेको र त्यससँगै स्वास्थ्य एवं चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई अगाडि बढाउन आवश्यक रहेको औंल्याउँदै अनुसन्धान इकाईको व्यवस्था तथा अनुसन्धान अनुदानको प्रावधानले ठूलो योगदान गर्ने र यस कार्यको लागि उनले डा. सुनिलकुमार शर्मा तथा शर्मा परिवारको अभिभावकत्वप्रति आभार व्यक्त गरेका थिए ।
यसै क्रममा नोबेलका अन्तर्राष्ट्रिय निर्देशक डा. निरन्जन कुमारले खुशी व्यक्त गर्दै विश्वमा स्वास्थ्य एवं चिकित्साको क्षेत्रमा सबैभन्दा बढी अनुसन्धान हुने गरेको र यहाँ पनि अनुसन्धानको कार्यलाई अझ प्रभावकारी ढंगबाट अगाडि बढ्न आवश्यक रहेको औंल्याए । नोबेलका प्रमुख कार्यकारी अधिकारी प्रा. डा. रामहरी घिमिरेले अनुसन्धान तथ्यपरक हुनुपर्ने र हाम्रा अनुसन्धानहरू यथार्थपरक ढंगबाट सम्पन्न गरी चिकित्सा स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउन सक्ने हुनु पर्नेमा जोड दिए ।
प्राचार्य प्रा. डा. राजेश नेपालले मन्तव्य राख्ने क्रममा बार्षिक १० लाखको अनुसन्धान अनुदानको समेत घोषणा गरेका थिए । घोषित पुरस्कार अनुसार नोबेलमा कार्यरत फ्याकल्टी, चिकित्सक, चिकित्सा कर्मचारी, विद्यार्थीहरुको अनुसन्धान टोली ३ वटा र नोवेल बाहिरका ३ गरी वार्षिक ६ वटा नेपाल भित्रका र दुई वटा अन्तर्राष्ट्रिय अनुसन्धानलाई अनुदान प्रदान गरिने छ ।
यो अनुदान प्राप्त गर्न नोबेलको अनुसन्धान इकाईको कार्यविधि अनुसारको प्रकृया पूरा गरेर आउनु पर्नेछ । कार्यक्रमको समापन गर्दै प्रा. डा. विश्वनाथ अधिकारीले शुभकामना व्यक्त गरेका थिए ।
संस्था भित्र र संस्था बाहिर साथै अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुलाई प्रदान गर्न लागिएको यस प्रकारको अनुसन्धान अनुदान कार्यक्रम प्राइभेट मेडिकल कलेजहरुमध्ये पहिलो भएको नोबेलको दाबी छ ।
नेपालका दुरदराजका स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, विपन्न बिरामीहरुको निःशुल्क उपचारदेखि आर्थिक विपन्नता भएका जेहनदार विद्यार्थीहरुलाई पारामेडिकल, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बीएनएस लगायतका विषयहरुमा छात्रवृत्ति प्रदान गर्दै आएका डा. शर्माले नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौँ मेडिकल कलेजमा विशेषज्ञ एवं विशिष्ट सेवाहरु निरन्तर रुपमा थप गर्दै स्वास्थ्य सेवालाई गुणस्तरीय सर्वसुलभ रुपमा उपलव्ध हुने व्यवस्था गर्दै आएका छन् ।