सरकार लोकतान्त्रिक मूल्य-मान्यता विपरीत चलेको एमालेको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
152
Shares
काठमाडौँ। नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले वर्तमान सरकारले गठन भएको सय दिन पूरा हुँदा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले सरकार लोकतान्त्रिक मूल्य-मान्यताविपरीत अघि बढिरहेको दाबी गरे।
उनले संविधान संशोधनको प्रक्रियाका विषयमा सत्ता पक्षबाट परस्पर विरोधी अभिव्यक्ति आएको भन्दै प्रधानमन्त्री कार्यालयबाट शुरू गरिएको प्रक्रियाप्रति एमालेको गम्भीर असहमति रहेको बताए।
उनले प्रतिनिधिसभा सञ्चालन नियमावली जबर्जस्ती पारित गरिएको उल्लेख गर्दै यसले संसदीय अभ्यास र कानुनी राज्यको मर्यादा उल्लंघन गरेको आरोप लगाए।
सांसद बरालले फौजदारी कानुनभन्दा माथि रहने गरी विशेष कानुन निर्माण गर्ने प्रयास तथा मन्त्रीहरूमाथि उठेका नैतिक प्रश्नलाई आन्तरिक रूपमा टुंग्याउने प्रवृत्तिले कानुनी शासनमाथि प्रहार गरेको टिप्पणी गरे।
शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा ऐन ल्याउनुको सट्टा नियमावलीमार्फत शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई नियन्त्रण गर्न खोजिएको भन्दै उनले सरकारको कदमप्रति आपत्ति जनाए।
सरकारले मौलिक हक र संवैधानिक आयोगहरूमाथि निरन्तर हस्तक्षेप गरिरहेको आरोप लगाउँदै बरालले यसले संविधानविद् र राजनीतिक दलहरूमा चिन्ता बढाएको बताए।
आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९८ अंकले घट्नु र बैंकिङ क्षेत्रमा लगानी सुस्त हुनु सरकारको आर्थिक नीति कमजोर रहेको संकेत भएको दाबी गरे।