राष्ट्रिय सभाको अधिवेशन मंसिरभित्रै आह्वान गरिने, नयाँ भवनबाट सञ्चालन नहुने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
885
Shares
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताएका छन्।
बिहीवार निर्माणाधीन संसद भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताए। उनले आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि बताए। नयाँ संसद भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको उल्लेख गर्दै यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको बताए।
आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको बताए।
उनले भने, “यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन। यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो। त्यो भएकाले कृषि समितिको हलमा काम शुरु गर्नेगरी तयारी थालेका छौँ।” उनले प्रतिनिधि सभालाई झनै बढी खाँचो परिसकेकाले जतिसक्दो छिटो बनाउनुपर्ने ताकेता रहेको बताए।
अध्यक्ष दाहालले निर्माणको गति अझ रफ्तारमा लैजानुपर्ने र वैशाखसम्म प्रतिनिधि सभा सञ्चालनका लागि रफ्तार बढाउनुपर्ने आवश्यकता रहेको बताए। सबैले ताकेता गरेपछि छिटो सम्पन्न हुने विश्वास पनि उनले व्यक्त गरे।