कांग्रेसमा विधानअनुसार विशेष महाधिवेशन चाहने पक्षधरको आज विशेष सभा
संस्थापनलाई सही निर्णय लिन आग्रह, नयाँ नेतृत्व र एजेन्डामा प्रतिनिधि सभा निर्वाचनमा जान माग
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
2.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसलाई पुनर्जागरण गरी नयाँ नेतृत्वसहित चुनावमा गएमात्र नयाँ परिस्थिति निर्माण भएको राजनीतिमा सफल हुन सकिन्छ भन्ने मान्यतासहित विशेष महाधिवेशन माग गर्ने पक्षधरले आज विशेष सभाको आयोजना गर्दैछ ।
काठमाडौँको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा दिउँसो आयोजना हुने विशेष सभामा कांग्रेसका अग्रज नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
दिउँसो १ बजेदेखि हुने उक्त कार्यक्रममा दुई हजार भन्दा बढी कांग्रेसका प्रतिनिधिहरू सहभागी हुने दाबी गरिएको छ । उक्त विशेष सभाले पार्टी नेतृत्वलाई झक्झक्याएर आगामी पुसभित्रै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व र नयाँ एजेन्डासहित आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन माहोल तयार गर्नेछ ।
हुनत पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि विधानअनुसार स्वतः तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ । तर त्यसलाई बलमिच्याइँ गर्दै सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापतिको जिम्मा पाएका उपसभापति पूर्णबहादुर पक्षले चुनावपछिमात्रै नियमित महाधिवेशन गर्ने जनाएको छ ।
यही बलमिच्याइँ गर्नका लागि गत असोज २८ गतेदेखि चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गत मंसिर ६ गतेसम्म तन्काइएको थियो । विशेष महाधिवेशनको माग लिएर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते नै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइसकेका छन् ।
सोअनुसार असोज २९ गतेको तीन महिना पुस २९ भित्रै विशेष महाधिवेशन गरेर पार्टीलाई पुनर्जागरण गर्नुपर्नेछ । नयाँ नेतृत्वसहित पार्टी अगाडि बढ्नै पर्नेछ ।
विशेष महाधिवेशन गरेर निकास दिनका लागि संस्थापन इतर पक्षले गत भदौमा भएको जेन–जी आन्दोलनपछिको परिवर्तित अवस्थाका बेलादेखि नै माग गर्दै आएको छ ।
त्यसलाई संस्थापनले नजरअन्दाज गर्दै आएको छ । जेन–जी आन्दोलनमा जेन–जीहरूको कारबाहीमा परेर अस्पताल बसेर फर्केपछि देउवाले असोज २८ गते कार्यवाहक दिएर आफू सक्रिय राजनीतिबाट टाढिने संकेत गरेका थिए ।
तर गत कार्तिकमा १८ दिनसम्म सिंगापुरमा उपचार गरी कार्तिक अन्त्यमा फर्केपछि फेरि सक्रियता बढाएका छन् । जसका कारण उनले नै पहिले प्रतिनिधि सभाको टिकट बाँड्ने त्यसपछिमात्र महाधिवेशन गरेर नेतृत्व सुम्पने हठ पालेको पाइएको छ ।
सोअनुसार उनले सिंगापुरबाट फर्केपछि विभिन्न समूहमा आन्तरिक छलफल चलाएर सक्रियता बढाएका छन् । यसरी अनधिकृत रूपमा उनको बढेको सक्रियताले कांग्रेसलाई फेरि दलदलमा धकेलेको छ ।
पार्टीलाई आफ्नो बिर्ता सम्झने परिपाटी पहिले पनि थियो । त्यसको विरोध गरेरै अगाडि आएका देउवा अहिले त्यो बिर्ता सम्झने पूर्व नेताहरू भन्दा झन् तानाशाहतिर ढल्केको आरोप पार्टीभित्र खेप्दै आएका छन् ।
ढिलै भए पनि सही निर्णय गर्ने र आफ्नो इमानमाथि शंका नगर्न आग्रहसहितको कार्तिक २९ गते सामाजिक सञ्जालमा लेखेर एकताका लागि आह्वान गर्ने कार्यवाहक सभापति खड्काले पनि मंसिर ६ गते कुनै पनि निर्णय नगरी चुनावमा जाने निर्णय गरेर आफ्नो इमान छर्पस्ट पारिसकेका छन् ।
निर्वाचन आयोगमा पार्टी दर्ता गर्दासमेत उनको नाम छैन । सभापति देउवाकै नेतृत्वमा नाम छ । अर्थात् खड्का कठपुतली बनिसकेका छन् ।
देउवाले नै सक्रिय भूमिका खेलेपछि पार्टी महाधिवेशन नै नगरी चुनावमा होमिने लगभग निश्चित छ । त्यो निश्चितता त्यतिबेला मात्र सकिन्छ जतिबेला विशेष महाधिवेशन माग्ने पक्षधरले कुनै पनि हालतमा विधान मिच्ने अधिकार नेतृत्वलाई छैन भनी विशेष महाधिवेशन पुसभित्रै गराएर छाड्छन् ।
विशेष महाधिवेशनका पक्षधरहरू महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले त यो निर्विकल्प भएकाले यसमा कुनै पनि अर्को सहमति हुन नसक्ने स्पष्ट पारिसकेका छन् ।
त्यस्तै गगन थापाले सोमबार मात्रै सामाजिक सञ्जालमार्फत जिज्ञासु कांग्रेस नेता तथा कार्यकर्ताको शंका निवारण गर्ने प्रयास गर्दै विशेष महाधिवेशनको विकल्प नभएकाले निर्धारित समयभित्रै विशेष महाधिवेशन हुने भन्दै तयारी थाल्न निर्देशनसमेत दिएका छन् ।
पार्टीभित्र दुई धार देखिए पनि विधानअनुसार चल्ने हो भने पार्टीको विशेष महाधिवेशन पुसभित्रै हुनेमा दुई मत छैन ।
यदि नेतृत्वभित्र जेन–जी आन्दोलनपछिको परिस्थिति आँकलन गर्ने क्षमता भएन र विशेष महाधिवेशन गरी पार्टीलाई पुनर्ताजगी गर्ने इच्छाशक्ति भएन भने त्यसले नेपालको सबैभन्दा पुरानो र स्थायित्वमा रहेको पार्टीको हालत सबैभन्दा खराब हुनेछ ।
जेन–जीका माग सम्बोधन गर्ने ठूलो पार्टीले हो । ०७९ को आम निर्वाचनको सबैभन्दा ठूलो पार्टी आफैँ सुध्रिन सक्दैन भने उसले नेतृत्व गर्न पनि सक्दैन र अहिलेसम्म हासिल गरेको उपलब्धि खेर जान पनि सक्छ ।
यही सेरोफेरोमा रहेर विशेष महाधिवेशन पक्षधरले आज विशेष सभा आयोजना गरेर संस्थापनलाई जगाउने प्रयास गर्नेछन् ।
आजको विशेष सभाका लागि आइतबार, सोमबार र मंगलबार पार्टीका विभिन्न भ्रातृ संगठनहरूले पनि विशेष तयारी गरेका छन् ।
विशेष महाधिवेशन गरेर निकास दिनका लागि संस्थापनबाटै चुनाव लडेका २५ केन्द्रीय सदस्यलेसमेत माग गरेका अवस्थामा संस्थापन कमजोर भए पनि अझ धङधङी छाडेको छैन ।
आजको विशेष सभाले त्यो धङधङीलाई हल्लाउने प्रयास गर्नेछ ।
दिउँसो १ बजेपछि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुने गरी भेला आयोजना गरिएको आयोजक मध्येका नेता गुरुराज घिमिरेले जानकारी दिए । भेलामा काठमाडौँ बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरु आउँदै गरेको अर्का नेता मनोजमणि आचार्यले बताए ।
बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको माग बमोजिम महाधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गर्नुपर्नेमा अनिर्णित भइरहेकाले केन्द्रीय समितिलाई दवाव दिन आज विषेश भेला आयोजना गरिएको भेलाको तयारी गरिरहेका कांग्रेस युवा नेता युवराज पाण्डेले जानकारी दिए ।
उनले भोलिको केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको निर्णय नभएमा महाधिवेशन माग गर्नेहरुले नै महाधिवेशन घोषणा गर्ने सन्देश भेलामार्फत दिइने बताए ।