३५ वर्षको हिलो पखाल्न विशेष महाधिवेशन गरौँ: गुरु घिमिरे [भिडियो]
कांग्रेस विगत ३५ वर्षदेखि निरन्तर सरकारमा रहेको उल्लेख गर्दै सरकारमा रहँदा गरेका कामहरूको समीक्षा गर्नुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
883
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले महाधिवेशनमार्फत सङ्गठन पुनर्संरचनाको मागलाई बेवास्ता गरेको आरोप लगाए।
बुधबार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलालाई सम्बोधन गर्दै घिमिरेले विगत ३५ वर्षको पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन आयोजना अपरिहार्य आवश्यकता भएको बताए। उनले नेपाली कांग्रेस विगत ३५ वर्षदेखि निरन्तर सरकारमा रहेको उल्लेख गर्दै सरकारमा रहँदा गरेका कामहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। घिमिरेले 'सत्ताको आलमा बस्दा लागेको धुलो र हिलो पखाल्न' विशेष महाधिवेशन हुनुपर्ने तर्क गरे।
उनले गत असोज २८ गतेदेखि चलिरहेको कांग्रेस केन्द्रीय समितिको बैठकले संसारका सबै रेकर्डहरू भङ्ग गर्दासमेत निर्वाचनमा सहभागी हुने निर्णयबाहेक उल्लेख्य निष्कर्ष निकाल्न नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको टिप्पणी गरे। पार्टीको सुधारका लागि केन्द्रीय समितिको सीमित घेरा मात्र पर्याप्त नहुने भन्दै नियमित महाधिवेशन अपरिहार्य रहेको उनले दोहोर्याए। साथै, उनले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्नुको सट्टा अपमानित गर्ने काम नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिए।
घिमिरेले विशेष महाधिवेशनमार्फत नयाँ पुस्ताको सहभागितासहित पार्टी पुनर्संरचना गर्नुपर्ने माग दोहोर्याउँदै पुस मसान्तसम्म विशेष महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गरे।