arrow

पार्टीभित्र स्वस्थ्य बहस गरौँ, यसकारण नयाँ नेतृत्व आवश्यक

logo
वेदप्रकाश तिमिल्सिना,
प्रकाशित २०८२ मंसिर १३ शनिबार
bed-prakash-timilsina-article-image-13-08-082.jpg

गोदावरीमा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकबारे नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सार्वजनिक रुपमा व्यक्त गरेको धारणा अतिरञ्जित, एकतर्फी र यथार्थबाट धेरै टाढा छ । 

पार्टीभित्र स्वस्थ्य बहसको ठाउँ अवश्य छ तर तथ्यलाई विस्थापित गर्दै  आरोपमात्र लागाउने कुरा उचित होइन । सबैभन्दा पहिले उनले नीति अधिवेशन फिका भयो भन्ने टिप्पणी गरेको तर महासमितिको वास्तविकता भने त्यो होइन । 

पार्टीका दुई महामन्त्रीहरूले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावहरू महासमितिबाट अनुमोदित भएरै निस्किएका दस्तावेज हुन व्यक्तिगत गुनासो वा व्यक्तिगत दुराग्रहका आधारमा फालिदिने कागज होइनन् । 

देशभरबाट आएका नेता कार्यकर्ताले छलफल गरेर पारित भएका प्रस्तावहरूलाई सुगन्धबिनाको फूल जस्तो टिप्पणी गर्नु प्रस्तावको गम्भीरता होइन, टिप्पणीकर्ताको दृष्टिकोणको दुर्बलता मात्र हो। 

यसबाहेक गठबन्धनका मुद्दामा मात्रै होहल्ला भयो भन्ने भनाइमा पनि वास्तविक आधार छैन। गठबन्धन देशको राजनीतिक परिस्थितिसँग प्रत्यक्ष सम्बन्धित विषय हो र महासमितिले उठाएको जिज्ञासा नै त्यसबारे स्पष्ट नीति बनाउने चाहना थियो । 

यो सामान्य प्रक्रिया हो । कुनै अवरोध वा विचलन होइन । यो प्रश्न सोधिनु पर्छ महासमितिमा उठेको वैचारिक बहसलाई ‘अव्यवस्था’ र ‘नाराबाजी’ का रूपमा देख्नु के पार्टीभित्रको बहसप्रति असहिष्णुताको अभिव्यक्ति होइन ?

 कल्याण गुरुङले प्रस्तावहरू असफल भयो भनेका छन् तर महासमितिको निर्णय विपरीत एक व्यक्तिको ठोकुवा कसरी वस्तुगत मूल्यांकन हुन सक्छ ? यदि प्रस्ताव असफल नै हुन् भने पार्टीका महाधिवेशन प्रतिनिधिहरू, जिल्लाका प्रतिनिधि, प्रदेश समितिहरू सबै गलत थिए ? कि असफल केवल प्रस्ताव होइन, त्यसलाई बुझ्ने दृष्टिकोण हो ?

धारा १७(२) को व्याख्यामा गुरुङले देखाएको अतिनिश्चयता पनि अचम्मको छ। विधानलाई एक पक्षीय रूपमा पढेर ‘विशेष महाधिवेशन नै नचाहिने’ भन्ने ठोकुवा गर्नु सरल व्याख्या हो तर सही व्याख्या होइन। विधानले नेतृत्व परिवर्तन होइन, नीति निर्धारणका विषयबारे संरचनागत समन्वय र वैचारिक स्पष्टताका मार्गहरू पनि दिन्छ। त्यसलाई केन्द्रीय समितिले मात्रै टुंग्याउँछ भन्नु विधानलाई संकुचित तरिकाले बुझ्ने प्रयास हो ।

 त्यसमाथि 'सडकमा पठाइयो’भन्ने अभिव्यक्ति कांग्रेसका हजारौँ कार्यकर्ताप्रति अपमानजनक छ । कांग्रेसका कार्यकर्ता स्वतन्त्र, सचेत र राजनीतिक रूपले सक्षम छन् । 

उनीहरूलाई कसैले कोठा खोलेर सडकमा पठाउने वस्तु ठान्नु स्वयं कांग्रेसको लोकतान्त्रिक संस्कारप्रति अनादर हो । यदि कार्यकर्ताहरू उठे, त्यो व्यक्तिगत निर्देशन होइन पार्टीको दिशा र भविष्यबारे चिन्ताको प्रतिफल हो ।

गुरुङका दुई धारणा आए । उनको पछिल्लो अभिव्यक्तिमा गुरुङले पछिल्लो भागमा ‘पार्टी भ्रममा परे लोकतन्त्र संकटमा पर्छ’ भनी चेतावनी दिएका छन् । यही वाक्य सत्य हो तर त्यसपछि प्रश्न उठ्छ—पार्टीको मनोबल बढाउने बेला एकपछि अर्को आरोप, बदनाम गर्ने शैली र भ्रामक व्याख्याले भ्रम बढाउँछ कि घटाउँछ ? आजको आवश्यकता नीति, संगठन, नेतृत्व सबैलाई समायोजन गर्दै पार्टीलाई एकताबद्ध राखेर अघि बढ्नु हो नकि निराशा फैलाउने ।

पार्टीका महामन्त्रीहरू निरन्तर संवाद, समन्वय र नीति स्पष्टतामा लागिरहेका छन् । यस्तो अवस्थामा महामन्त्रीलाई सहयोग गर्नुको सट्टा  असन्तुष्टिको भाषा बोल्दै पार्टीभित्र भ्रम छर्ने गतिविधिले पार्टीको हितभन्दा धेरै स्वार्थको छायाँलाई मात्र बलियो बनाउँछ । यही प्रकारका अभिव्यक्ति नै लोकतन्त्रका लागि वास्तविक चुनौती बन्न सक्छन्। केन्द्रीय सदस्य कल्याण गुरुङको धारणा व्यक्तिगत असन्तुष्टि र गलत व्याख्याको मिश्रण हो भनेर बुझ्न गाह्रो छैन ।

यस्तो समयमा भ्रम होइन विश्वास जगाउने, निराशा होइन आशा जगाउने, आरोप होइन उत्तरदायित्वका साथ अघि बढ्ने नेतृत्वकै आवश्यकता छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेस त्यसै मार्गमा अघि बढ्ने पक्का छ । महामन्त्रीद्वयको मार्ग नेपाली कांग्रेस जोगाउने र देश बनाउने अभियान हो ।

कल्याण गुरुङको धारणा भ्रमपूर्ण मात्र होइन कांग्रेसको भावी यात्रामा बाधा सिर्जना गर्ने, पुस्तान्तरण रोक्ने, नायवी शासन स्थापनाको मार्ग खोल्ने प्रकृतिको छ। कांग्रेस अब अतीतमा अड्किएर बस्ने अवस्थामा छैन । नेपाली कांग्रेसक शुभेच्छुक, समर्थक अनि देशभरका नेता कार्यक्रताले मागेको कुरा एकै हो परिवर्तन, जवाफदेहिता सहितको जिम्मेवार अनि गतिशील नेतृत्व । यही मार्गले कांग्रेसलाई बलियो बनाउँछ। यही बाटोले देशलाई दिशानिर्देश गर्नेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हाम्रो साझा गौरव हो। उनीप्रति हाम्रो सम्मान अटल छ र उनले आजसम्म निभाइरहेको भूमिकाको कदर हामी सबै गर्छौँ। यद्यपि यस सम्मानको आडमा कतिपय स्वार्थी गुटहरूले सभापतिकै नाम र हैसियतलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गइरहेको देखिन्छ ।जुन नेपाली कांग्रेसको चरित्र, मर्यादा र संस्थागत संस्कारका लागि गम्भीर चुनौती हो। 

कल्याण गुरुङले हाल व्यक्त गरेको धारणा यही सोचलाई ढाकछोप गर्ने गरी प्रस्तुत गरिएको देखिन्छ, जसले पार्टीभित्र परिवर्तन, रुपान्तरण र पुस्तान्तरणलाई अवरुद्ध गर्न खोजिरहेको छ ।

सभापतिले कार्यवाहक दिएर सम्मानजनक रूपमा बिदा हुन चाहेका छन् । सभापतिलाई सम्मानजनक तरिकाले बिदा रोक्न खोज्ने केही व्यक्तिहरू सभापतिको नाम, हस्ताक्षर र अधिकार दुरूपयोग गर्न चाहनेहरू  विगतमा ‘सभापतिज्यूको नाममा’ दुरूपयोग गरेकाहरू पार्टीलाई भ्रम र संकटतर्फ धकेलिरहेका छन् । 

यस्ता प्रवृत्ति यी सबै कांग्रेसको नेतृत्वलाई कमजोर बनाउने, सभापतिलाई नै विवादमा तान्ने र पार्टीभित्र अविश्वास फैलाउने दुष्प्रयासका उदाहरण हुन्। कांग्रेसको नाममा यस्तो नायवी शासन कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।

कल्याण गुरुङलाई अवगत गराउन चाहन्छु  नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको नाममा नायवी शासन चलाउनेहरू नेपाली कांग्रेसका लागि जीवन समर्पित गरेकाहरूलाई चिन्दैनन् । 

उनीहरुलाई शहीद , बेपत्ता र घाइते भएर अङ्गभङ्ग भएकाहरूलाई पनि चिन्दैनन् शहीद अनि बेपत्ता परिवारको अवस्था थाहा छैन । पार्टीभित्र किचन क्याबिनेट बनाएर नायवी शासन चलाउनेहरूलाई नेपाली कांग्रेसको नेतृत्वमा भएका आन्दोलन अनि नेपाली कांग्रेस सहभागी आन्दोलनको मतलब छैन । 

माओवादी द्वन्द्वको पीडा उनीहरूलाई महसुस हुँदैन । साथै सुशासन, विधि, नियम कानून उनीहरू आफू अनुकूल प्रयोग गर्छन् । त्यसैले नायवीहरूबाट नेपाली कांग्रेस अनि देश दुवै बन्दैन । 

तसर्थ नयाँ नेतृत्व चाहिएको छ । नेपाली कांग्रेस अनि देशका लागि गगन थापाको आवश्यकता छ । (लेखक तिमिल्सिना नेपाली कांग्रेस अछामका युवा नेता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ