काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको टिप्पणी गरेका छन् ।
वर्तमान सरकारको वैधतामाथि पार्टीका नेताहरूले प्रश्न गरिरहेका बेला उनले जेन-जी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताएका हुन् ।
नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहीत छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे ।
उनले सो आन्दोलनमा घुसपैठ हुनु, राष्ट्रिय धरोहरहरू भत्काउने काम उचित नभए पनि जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
नेता महरले सरकारले पर्यात काम गर्न नसक्दाको परिणाम जेन-जी आन्दोलन भएको र त्यसले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूलाई निर्देश गरेको समेत बताए ।
बुधबार काठमाडौँमा आफूले रचना गरेको गीत बन्छ बन्छ, मेरो देश बन्छ सार्वजनिक कार्यक्रममा बोल्दै उनले देश र जनताको पक्षमा राजनीति गर्नेहरूले पर्याप्त काम नगरेपछि आफूले देश बनाउने आशा उमार्न सो गीत रचना गरेको समेत बताए ।
नेता महरले भने, ‘संविधानमा लेखिएको छ-सार्वभौमसत्ता जनतामा निहीत । त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि जनतामा हुन्छ । जनताले बनाएको संविधान उसलाई मन लाग्यो भने निर्देश गर्दछ । नयाँ मुभमेन्टबाट परिवर्तन हुन्छ । त्यो जनताको अधिकार हो । र अहिले जननिर्वाचित सरकार नभए पनि जनताको आदेश जसरी आन्दोलन भयो, त्यसरी होला कतै न कतै घुसपैठ होला । राष्ट्रिय धरोहर भत्किनु हुँदैनथ्यो होला । त्यो आफ्नो ठाउँमा छ । त्यो गल्ती कमजोरी भएको छ । तर हाम्रो गराई पनि पर्याप्त थिएन ।’
कार्यक्रममा राष्ट्रिय गानका लेखक प्रदीपकुमार राई व्याकुल माईला, वरिष्ठ गीतकार भोलाप्रसाद रिजाललगायतले मुलुकलाई अघि बढाउने दिशामा राजनीतिक पार्टीहरु प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।