भेदभावमुक्त समाजका लागि निरन्तर प्रयास आवश्यक: प्रधानमन्त्री कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
799
Shares
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताएकी छिन्।
आज सिंहदरबारमा हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि सुझाव दिइन्।
प्रधानमन्त्री कार्कीले सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व कसरी हुनसक्छ भनेर आफूले पनि प्रयास गर्ने बताएकी छिन्। हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग निर्वाचन कानुनमा दलितमैत्री व्यवस्थाका लागि आग्रह गरेको छ। उनीहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेकोबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।
भेटका क्रममा अध्यक्ष सुनारले यसअघि प्रधानमन्त्री कार्कीले आफ्नो निजी कारणले आलोचना खेप्नुपरेको भन्दै क्षमायाचनासमेत गर्दै विषम परिस्थितिमा मुलुक सम्हाल्न अगाडि सरेकामा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरे।