अन्नपूर्ण चक्रीयमा सडक छल्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन
पर्यटकको रोजाइमा ग्रामीण जीवनशैली
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
675
Shares
म्याग्दी। म्याग्दी, कास्की र पर्वत जिल्ला जोड्ने एउटा नयाँ वैकल्पिक पदमार्ग सञ्चालनमा आएको छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्डको पुरानो पदमार्ग सडकले असहज बनाई विस्थापित भएपछि पदयात्रीले यो नयाँ मार्ग प्रयोग गर्न थालेका हुन्।
यो वैकल्पिक पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पर्वतको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरूलाई समेटेको छ। यसमा कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, स्वाँत, खोप्रा, खयरबराही ताल, बयली, मुल्डे भ्यु पोइन्ट, घान्द्रुक, लान्द्रुक हुँदै घम्पुस जोड्ने रुटहरू समावेश छन्।
पथप्रदर्शक दिनेशकुमार घिमिरेका अनुसार, दशदेखि १५ दिनमा यात्रा पूरा गर्न सकिने यो पदमार्गलाई सडकले असर गरेको छैन। उच्च पहाडी र हिमाली क्षेत्रको भूगोलमा हिमशृङ्खला, सूर्योदय, वनजङ्गल, पक्षी, भेडा, चौँरीको घुम्ती गोठ, र वन्यजन्तुको अवलोकन गर्दै यात्रा गर्न पाइने भएकाले र ग्रामीण जीवनशैली, शान्त र एकान्त वातावरण उपलब्ध गराउने भएकाले यो पर्यटकको रोजाइमा परेको छ। पर्यटन व्यवसायीहरूले यस पदमार्गलाई धौलागिरि अन्नपूर्ण नामकरण गरेका छन्।
स्वाँतका होटल व्यवसायी बलबहादुर तिलिजा पुनका अनुसार, हाल दैनिक १०० जना पर्यटक यो नयाँ वैकल्पिक पदमार्गको भ्रमणमा आउने गरेका छन्। पर्यटक आगमन बढेपछि बजारबाट गाउँ फर्किएर होटल व्यवसाय सुरु गर्ने र अन्य ठाउँमा होटल तथा रेस्टुरेन्ट थपिने क्रम बढेको छ। समुन्द्री सतहबाट २,३०० मिटर उचाइमा रहेको स्वाँत विश्राम गर्ने थलोका रूपमा विकास भएको छ, भने ३,६०० मिटर उचाइको खोप्रा लेक यस पदमार्गको मुख्य आकर्षण हो।
बयलीका होटल व्यवसायी लोकबहादुर पुर्जाले वनजङ्गल, भिर र खोल्सा भएकाले सुरक्षाका लागि गाइडसहित यात्रामा आउन सुझाव दिएका छन्। अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले पदमार्गका सामुदायिक लजको क्षमता विस्तार, पदमार्ग स्तरोन्नति, निर्माण र नयाँ गन्तव्यको पहिचान तथा प्रवर्द्धनमा जोड दिएको बताएका छन्।