दोलखा। दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गत निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
सुरुङमार्गमा काम गर्दै आएका ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका ३९ वर्षीय शुक्रबहादुर राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए ।
राई सोमबार सुरुङभित्र ड्रिल खोप्ने क्रममा अचानक लडेर घाइते भएका थिए । लडेर उनी करिब ५ मिटर तल पुगेको प्रहरीले जानकारी दिएको छ ।
घाइते भएका उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा ल्याइएको थियो ।
उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीको भनाइ छ ।
राईको शव परीक्षणका लागि पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा राखिएको प्रहरीले जनाएको छ । रासस