काठमाडौँ। चितवनसहित छिमेकी जिल्लाहरूमा पालिएका कुखुराहरूमा चिकेन एनेमिया भाइरस देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा यो भाइरस भेटिएको हो।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको छ। जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोगको सङ्क्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो, जसक्रममा चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमूनामा यो समस्या देखिएको उनले बताए।
यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ, जसले गर्दा अन्य रोगहरूले कुखुरामा आक्रमण गर्ने डा. श्रेष्ठले बताए। उनी भन्छन्, "प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ।" यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्दछन्। "कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रूपमा पर्ने भएकाले बेवास्ता गर्नुहुँदैन," उनले बताए। कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए। यो खोप ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुवैमा दिनुपर्ने हुन्छ।
चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ। जैविक सुरक्षाको अभावमा सङ्क्रमण देखिने गरेको उनले बताए। अहिले कुखुरामा इन्फुलुन्जाको एच ९ को सङ्क्रमण देखिने समय भएकाले सबै कुखुरापालक किसानहरूलाई यसबाट सचेत रहन उनले आग्रह गरे। यसका लागि फार्ममा दाना, पानी, औषधि, भूषलगायतका सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन्। बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ।