शिक्षाका लागि ठूलो रकम बाहिरिँदै: चार महिनामा ४२ अर्ब ९६ करोड विदेशियो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
656
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्कअनुसार देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने क्रम जारी छ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय कूल रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो। यसरी अघिल्लो आवको तुलनामा चालु आवको चार महिनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको छ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु ५५ अर्ब ४९ करोड रहेको थियो।
यसै अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड रहेको थियो। समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब एक करोडले घाटामा रहेको थियो।