जुम्लाबाट कांग्रेसका सबै आकांक्षी उम्मेद्वार केन्द्रमा सिफारिस
पूर्वसांसद सेजुवाल पुन: चर्चामा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
2.1k
Shares
जुम्ला । नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेद्वार सिफारिस प्रक्रिया टुंग्याउँदै केन्द्रमा सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिले एकल नाममा सहमति जुटाउने प्रयास असफल भएपछि सबै आकांक्षीको नाम केन्द्रमा पठाउने निर्णय गरेको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।
सिफारिसमा पूर्वसांसद कान्तिका सेजुवाललाई प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षी भनिएको छ । योसँगै सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस जुम्लाबाट चार जनाको नाम सिफारिस गरिएको छ ।
जसमा पार्टी सभापति कर्णबहादुर शाही, पूर्वसांसद कान्तिका सेजुवाल, खड्कबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्य छन् ।
कान्तिका सेजुवाल नेपालको पहिलो महिला मेयरका रूपमा स्थानीय शासन र महिला नेतृत्वको इतिहासमा स्थापित नाम हो । पितृसत्तात्मक संरचना बलियो रहेको समयमै नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले महिला सहभागिता, स्थानीय विकास र सुशासनका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा पुर्याएकी थिइन्। उनको पुनः सक्रिय राजनीतिक उपस्थितिलाई कांग्रेसभित्र अनुभवी र प्रतिकात्मक नेतृत्वको निरन्तरताका रूपमा हेरिएको छ।
समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरिएको छ। जनजाति तथा पिछडिएको क्षेत्रबाट पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, खस-आर्य समूहबाट धनबहादुर बस्नेत, गोविन्दबहादुर शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य र परेकलाल घर्ती छन्।
दलिततर्फ गोरखबहादुर सुनार, महिला तथा दलिततर्फ माया नेपाली, महिलातर्फ नेत्रकला शाही र नवीना केसी बडुवाल तथा अन्यतर्फ कर्णजंग हमाल, जयन्ती आचार्य, लालबहादुर जिसी र रज्जब अलि मनिहारको नाम सिफारिस गरिएको छ।
यस्तै, राष्ट्रियसभाका लागि पनि चार जनाको नाम केन्द्रमा पठाइएको छ। जसमा कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्वमन्त्री भक्तबहादुर रोकाया, भीमनिधि हमाल र सुमन बुढा बस्नेत छन्।
कान्तिका सेजुवालको नाम पुनः सिफारिस हुनु केवल व्यक्तिगत राजनीतिक पुनरागमनमात्र नभई नेपाली राजनीतिमा महिला नेतृत्वको ऐतिहासिक योगदान र त्यसको निरन्तरताको सन्देशका रूपमा समेत हेरिएको छ।