आगामी निर्वाचनमा बहुमत पाए जनताको सपना साकार पार्छौँ: माधव नेपाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
743
Shares
काठमाडौँ | 'नेपाली कम्युनिष्ट पार्टी' (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्न नेपाली जनतासँग आग्रह गरेका छन्। शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित पार्टीको 'एकता सन्देश सभा'लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा सहसंयोजक नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि 'अग्नि परीक्षा' हुने बताए। उनले भने, "नेपाली जनताले हामीलाई विश्वास गरेर बहुमत दिएको खण्डमा हाम्रो अर्को अग्नि परीक्षा सुरु हुन्छ। हामी साँच्चै जनताको सपना साकार पार्न इमानदार छौँ कि छैनौँ भन्ने कुरा त्यतिबेला प्रमाणित हुनेछ। त्यसैले हामीलाई एक पटक मौका दिनुहोस्।"
उनले आफ्नो पार्टीले इमानदारिता, देशभक्ति र जनसेवाको भावनालाई आत्मसात् गर्दै अघि बढ्ने सङ्कल्प लिएको दाबी गरे। "हामीले आजसम्म इमानदारिता र देशप्रेमको राजनीति गर्दै आएका छौँ, जनताको सेवा गर्ने हाम्रो आँट र सङ्कल्प अझै दृढ छ," उनले बताए।
विशेष गरी युवा पुस्ताको प्रसङ्ग जोड्दै नेता नेपालले 'जेन–जी'पुस्ता आफ्नो पार्टीमा एकीकृत हुने क्रम जारी रहेको र उनीहरूको ऊर्जालाई देश विकासमा लगाउने योजना रहेको उल्लेख गरे। दशवटा विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बनेको यस नयाँ पार्टीले सातै प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ।