तराईमा हुस्सु र कुहिरोको सास्ती, कोशीका पहाडी क्षेत्रमा आंशिक बदली
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
803
Shares
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावले तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले आज दिउँसो र राति तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने प्रक्षेपण गरेको छ। कोशी प्रदेशका पहाडी भू-भाग बाहेक अन्य क्षेत्रमा मौसम सफा रहने भए पनि तराईमा भने हुस्सुका कारण भिजिबिलिटी (दृश्यांश) कम हुने देखिएको छ।
बिहानको समयमा बाक्लो हुस्सु लाग्ने भएकाले सडक तथा हवाई यातायात, स्वास्थ्य र दैनिक जनजीवनमा आंशिक प्रभाव पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी यात्रा गर्नेहरूले मौसमको अवस्था हेरेर मात्र निस्कन र चिसोबाट बच्न आवश्यक उपाय अपनाउन सुझाव दिइएको छ।