arrow

सानेपा बैठकको निष्कर्ष: तोकिएको समयमा महाधिवेशन गर्ने आधार छैन [भिडियो]

कांग्रेसको महाधिवेशन तोकिएको समयमा नहुने निश्चित, क्रियाशील सदस्यता नै मुख्य तगारो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
mahat-prakashsaran.jpg

काठमाडौँ । नेपाली कांग्रेसले तोकिएको समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्न नसकिने स्पष्ट पारेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनका लागि आवश्यक तयारी र आधारहरू पूर्ण नभएकाले निर्धारित समयमा महाधिवेशन सम्भव नरहेको निष्कर्ष निकालेको हो।

सक्रिय सदस्यतामा ठुलो अल्झन बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनका लागि सबैभन्दा ठुलो चुनौती सक्रिय (क्रियाशील) सदस्यता टुङ्ग्याउनु रहेको बताए। सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगनकुमार थापा रहे पनि प्राविधिक र व्यवस्थापकीय समस्याका कारण काम अघि बढ्न नसकेको उनको भनाइ छ।

प्रवक्ता महतका अनुसार जिल्ला–जिल्लामा पठाइएका सक्रिय सदस्यता फारमहरूमा 'सिरियल नम्बर' (क्रमसंख्या) नभएका कारण ती फारमहरू फेरि पठाउनुपर्ने अवस्था सिर्जना भएको छ। "कतिपय जिल्लामा समयमै फारम भरेर बुझाउन सकिएको छैन भने कतिपय ठाउँमा भरेका फारमहरू प्रणालीमा 'इन्ट्री' गर्न सहज छैन," महतले भने, "जिल्ला कार्यालयहरू नै तहसनहस भएको अवस्था छ, जसले गर्दा सदस्यता टुङ्ग्याउन गरिएको प्रयास सफल हुन सकेन।"

वडादेखिकै कार्यतालिका प्रभावित क्रियाशील सदस्यताको टुङ्गो नलागी वडा तहदेखिको निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने भएकाले समग्र महाधिवेशनको कार्यतालिका नै प्रभावित हुने देखिएको छ। प्रवक्ता महतले सबैको तदारुकता र क्रियाशीलता हुँदाहुँदै पनि प्राविधिक र विधिसम्मत काम गर्नुपर्ने बाध्यताले गर्दा तोकिएको मिति सार्नुपर्ने अवस्था आएको स्वीकार गरे।

बैठकले पार्टीका जिम्मेवार पदाधिकारीहरूलाई यस्तो संवेदनशील विषयमा गम्भीर र गहन भएर आफ्ना धारणाहरू राख्न समेत आग्रह गरेको छ। सदस्यता इन्ट्री र व्यवस्थापनको काम जटिल बनेपछि कांग्रेसभित्र महाधिवेशनको नयाँ मितिबारे बहस सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ