पात्रो सुधारको बहस: आकाशमा ग्रहको स्थिति जस्तो छ, पात्रोमा पनि त्यस्तै हुनुपर्ने माग
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
858
Shares
काठमाडौँ । नेपालबाट प्रकाशित हुने पात्रो (पञ्चाङ्ग) कुन सिद्धान्तका आधारमा तयार पार्ने भन्ने विषयमा नेपालका विद्वानहरूले मात्र निर्णय गरेर नपुग्ने सरोकारवालाहरूले बताएका छन्। विश्व ज्योतिष महासङ्घ, नेपाल ज्योतिष परिषद् र अन्य ज्योतिष संस्थाहरूको संयुक्त आयोजनामा शनिबार राजधानीमा भएको राष्ट्रिय ज्योतिष सम्मेलनमा यस्तो निष्कर्ष निकालिएको हो।
संयुक्त निर्णयको आवश्यकता नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले नेपालको चाडपर्व र संस्कृति अन्य देशहरूसँग पनि जोडिएकाले निर्णय गर्दा संयुक्त रूपमा गरिनुपर्नेमा जोड दिए। उनले अन्य देशका ज्योतिषविद्हरूलाई समेत बोलाएर वृहत् सम्मेलन गरी एउटै निष्कर्षमा पुग्नुपर्ने सुझाव दिए।
"यदि नेपाल र भारतका ज्योतिषीहरूले संयुक्त निर्णय गरेनन् भने, भारतका भक्तजन अघिल्लो दिन महाशिवरात्रि भनेर पशुपतिनाथ आउने र नेपालले अर्कै दिन मनाउने अवस्था आउन सक्छ," अध्यक्ष ढकालले चेतावनी दिँदै भने, "यस्तो समस्या जनकपुरको विवाह पञ्चमीमा पनि देखिन सक्छ।"
२०८४ सालको पात्रोमा सुधारको तयारी समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको पात्रो अहिलेकै शैलीमा प्रकाशन गरिनेछ। तर, २०८४ सालको पात्रो प्रकाशन गर्नुअघि भने विस्तृत छलफल र सुधारका कामहरू गरिने उनले बताए। विश्व ज्योतिष महासङ्घका केन्द्रीय अध्यक्ष लोकराज पौडेलले अबको पात्रो आकाशमा ग्रहहरूको वास्तविक स्थिति (दृश्य गणित) अनुसार झल्कने गरी परिमार्जन हुनुपर्ने माग गरे।
सम्मेलनमा सहभागी अन्य विज्ञहरू प्रा. श्रीकृष्ण अधिकारी र सूर्यप्रसाद ढुङ्गेल लगायतले नेपालको ज्योतिष एवं धर्मशास्त्रको क्षेत्रमा समयानुकूल सुधार गरिनुपर्ने धारणा राखेका थिए।