काठमाडौँ । जाडोयामको सुरुवातसँगै तराईमा शीतलहर र देशभर बढ्दो चिसोले जनजीवन कठिन बनाइरहेको छ। चिसोबाट बच्न मानिसहरूले आगो ताप्ने, कोइला बाल्ने, हिटर र गिजर जस्ता उपकरणको प्रयोगलाई तीव्रता दिएका छन्। तर, यी न्यानो बनाउने माध्यमहरूको प्रयोगमा सामान्य सावधानी नअपनाउँदा बर्सेनि अनाहकमा ज्यान जाने र अस्पताल भर्ना हुनुपर्ने दुःखद घटनाहरू दोहोरिइरहेका छन्। केही दिनअघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको ज्यान गएको छ भने परिवारका अन्य सदस्यहरू बेहोस अवस्थामा फेला परेका छन्। यस्ता घटनाहरूले जाडोमा न्यानो खोज्दा अपनाउनुपर्ने सतर्कता कति महत्त्वपूर्ण छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।
न्यानोका लागि प्रयोग गरिने उपकरणहरूले अक्सिजनको सहायताले ऊर्जा पैदा गर्दा 'कार्बन मोनोअक्साइड' जस्तो विषाक्त ग्यास उत्पादन गर्छन्। विशेष गरी घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएको वा बन्द कोठामा यी उपकरण चलाउँदा कोठामा यो ग्यास जम्मा हुन पुग्छ। कार्बन मोनोअक्साइड गन्ध, रङ्ग र स्वादरहित हुने भएकाले यसको उपस्थिति मानिसले थाहै पाउँदैनन्। कन्सल्टेन्ट जेनेरल फिजिसियन डा. विवेकराज पौडेलका अनुसार बन्द कोठामा अक्सिजन सकिएर कार्बन मोनोअक्साइड र कार्बन डाइअक्साइड मात्र बाँकी रहँदा हाम्रो शरीरले ती विषाक्त ग्यास लिन बाध्य हुन्छ, जसले मुटुको चालमा गडबड गराउने, होस हराउने, सास फेर्न नसक्ने र रगतमा एसिडको मात्रा बढाउने जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ।
डा. पौडेलका अनुसार यस्तो अवस्थामा फसेका व्यक्तिहरूलाई जति सक्दो छिटो उद्धार गरेर खुला र ताजा हावा भएको वातावरणमा लैजानुपर्छ। अस्पताल पुर्याएपछि उनीहरूलाई 'हाइ फ्लो' अक्सिजन दिएर उपचार गरिन्छ। समयमै उद्धार हुन नसकेमा दीर्घकालीन रूपमा मानसिक अवस्था कमजोर हुने, बिर्सने समस्या देखिने र मानिस पहिलाको जस्तो चनाखो नहुने जोखिम रहन्छ। बर्सेनि यस्ता दुर्घटनाहरू बढ्दै गए पनि सर्वसाधारणमा अझै चेतनाको कमी रहेको विज्ञहरू बताउँछन्। कोठा वा बाथरुममा हावा छिर्ने भेन्टिलेसन नहुँदा यस्ता उपकरणले ज्यान लिने पासोको काम गर्ने भएकाले सधैँ सजग रहन आवश्यक छ।
यसै सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा वा हिटर चलाउँदा विशेष सावधानी अपनाउन अपिल गरेको छ। मन्त्रालयका अनुसार हावा ओहोरदोहोर हुने ठाउँमा मात्र आगो ताप्ने वा गिजरको प्रयोग गर्नुपर्छ। कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न र हिटर बाल्दा कागज वा कपडा जस्ता छिटो जल्ने सामग्री नजिक नराख्न सुझाव दिइएको छ। त्यसै गरी सुत्नुअघि अनिवार्य रूपमा हिटर र कोइला पूर्ण रूपमा निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्ने र नुहाउँदा बाथरुमको झ्याल खुला राख्ने जस्ता उपायहरू अपनाएर सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ।