arrow

सुक्खा हिउँदको सङ्केत: फागुन मध्यसम्म देशभर सरदरभन्दा कम वर्षा हुने विभागको आकलन

बागमती र मधेसमा उच्च सुक्खाको जोखिम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
kahtmandu-weather-82-7-11yy.jpeg

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको जलवायु आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। 

विभागका सूचना अधिकारी दिनकर कायस्थले गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा मापन गरिएको जानकारी दिँदै आउँदा दिनहरूमा पनि सोही प्रवृत्ति कायम रहने बताएका छन्। सुदूरपश्चिम, कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा भने सरदरभन्दा कम, सरदर वा सरदरभन्दा बढी वर्षा हुने मिश्रित सम्भावना रहेको छ।

सूचना अधिकारी कायस्थका अनुसार सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। 

त्यसैगरी सुदूरपश्चिमका दक्षिण–पश्चिमी भूभाग, कर्णालीका मध्य भूभाग, लुम्बिनीका उत्तरी भूभाग, गण्डकीका मध्य भूभाग, बागमतीका मध्य भूभाग, मधेसका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य तथा दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको देखिन्छ भने देशका बाँकी भूभागमा यस्तो सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको प्रतिवेदनमा उल्लेख छ।

विभागले यो आकलन विश्व मौसम सङ्गठनका विभिन्न जलवायु केन्द्रहरूले उत्पादन गर्ने प्रारुपहरूका आधारमा तयार गरेको हो। नेपालको हिउँदे जलवायुमा प्रभाव पार्ने प्रशान्त महासागरको एलनिनो तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइको हालको अवस्थालाई समेत मध्यनजर गरिएको छ। 

हाल प्रशान्त महासागरमा लानिनाको अवस्था रहेको र हिउँदको अन्त्यसम्ममा यो तटस्थतर्फ जाने देखिएको छ भने हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइ हिउँद अवधिभर तटस्थ अवस्थामै रहने आकलन गरिएको छ। ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणालीहरूमा निर्भर हुने भएकाले ऋतु परिवर्तनको समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने विभागले स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ