सामाजिक सद्भाव कायम राखेर शान्तिपूर्ण निर्वाचनका लागि सघाउन प्रधानमन्त्रीको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
784
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखेर शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन् ।
अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको भन्दै उनले प्रत्येक नागरिकले देश मेरो पनि हो भन्ने जिम्मेवारीवोधका साथ भूमिका खेल्नुपर्ने बताइन् ।
निर्वाचनका लागि सबै राजनीतिक दलहरू तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा पनि उनले राखिन् ।
पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमवार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मुलुकको अवस्था निकै संवेदनशील छ। प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीवोधका भूमिका खेल्नुपर्नेछ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ । यसका लागि तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस् ।’
निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्ने भन्दै उनले नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गए मुलुकले लय समाउने दाबी गरिन् ।