arrow

हिउँको चपेटामा युरोप: सात जनाको मृत्यु, हजारौँ उडान रद्द र जनजीवन अस्तव्यस्त

विद्यालय बन्द, रेल सेवा अवरुद्ध र घरबारविहीनलाई बाँच्नै सकस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
europe-cold-2026.jpg

काठमाडौँ । अत्यधिक हिमपात र हाडकाँप्ने चिसो हावाका कारण युरोपको जनजीवन लगातार तेस्रो दिन पनि निकै कष्टकर बनेको छ। जाडो मौसमको अहिलेसम्मकै कडा चिसोका कारण महाद्वीपभरि यातायात सेवा ठप्प भएको छ भने मौसमजन्य दुर्घटनाहरूमा परी सात जनाको मृत्यु भइसकेको छ। बाक्लो कुहिरो र धावनमार्गमा हिउँ जमेका कारण सयौँ उडानहरू रद्द हुँदा हजारौँ यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्।

युरोपका व्यस्त हवाइ केन्द्रहरू पेरिस र एम्स्टर्डम सबैभन्दा बढी प्रभावित भएका छन्। नेदरल्यान्ड्सको शिफोल विमानस्थलमा मात्रै ७०० भन्दा बढी उडान रद्द भएका छन् भने मङ्गलबार राति एक हजारभन्दा बढी यात्रुहरू विमानस्थलमै रात बिताउन बाध्य भए। 

फ्रान्सको चाल्र्स डी गलमा १०० र ओर्ली विमानस्थलमा ४० भन्दा बढी उडान रद्द गरिएका छन्। त्यस्तै, ब्रसेल्स र बुडापेस्ट विमानस्थलमा पनि उडान कटौती गरिएको छ। हङ्गेरीको राजधानीमा विगत १५ वर्षयताकै सबैभन्दा बढी हिउँ परेको मौसमविद्हरूले बताएका छन्।

चिसोको प्रभाव सडक र रेल सेवामा पनि उत्तिकै देखिएको छ। लन्डन र युरोपेली शहरहरू जोड्ने युरोस्टार रेल सेवा अवरुद्ध भएको छ भने फ्रान्सका धेरै मुख्य सडकहरूमा लरी र ट्रक सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। बेलायतको स्कटल्याण्डमा हिउँकै कारण सयौँ विद्यालयहरू तेस्रो दिन पनि बन्द रहेका छन्। केही ग्रामीण इलाकाहरू सडक सम्पर्कबाट पूर्ण रूपमा विच्छेद हुन सक्ने चेतावनी दिइएको छ। आल्प्स क्षेत्रमा तापक्रम माइनस २४ डिग्री सेल्सियससम्म झरेको छ भने हङ्गेरीमा माइनस २० डिग्री पुग्ने प्रक्षेपण गरिएको छ।

बाल्कन र नर्डिक देशहरूमा पनि स्थिति भयावह छ। सर्बियामा हिमआँधीले बिजुलीका तारहरू ढाल्दा हजारौँ मानिस अन्धकारमा बस्न बाध्य छन् भने अल्बानियामा मुसलधारे वर्षा र बाढीले सयौँ घर डुबानमा पारेको छ। स्वीडेनका अधिकारीहरूले भारी हिमपातका कारण बिजुली कटौती हुन सक्ने भन्दै नागरिकहरूलाई सम्भव भएसम्म घर बाहिर ननिस्कन आग्रह गरेका छन्। यो चरम मौसमले विशेष गरी घरबारविहीन व्यक्तिहरूलाई ठूलो सङ्कटमा पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ