काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका साना–ठूला कम्युनिष्ट घटकहरूलाई एकीकृत गर्ने अभियानमा आफू दृढताका साथ लागेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि बलियो कम्युनिष्ट शक्तिको आवश्यकता औँल्याए।
संयोजक दाहालले १७ वटा विभिन्न कम्युनिष्ट समूहहरूलाई समेटेर 'नेपाली कम्युनिष्ट पार्टी' निर्माण गरिएको जानकारी दिँदै यो एकता प्रक्रियाले मुलुकको स्वाधीनतालाई थप मजबुत बनाउने दाबी गरे। "एक्लै–दुक्लै प्रयास गरेर राष्ट्रिय चुनौतीहरू सामना गर्न सम्भव छैन, त्यसका लागि बृहत राष्ट्रिय एकता चाहिन्छ," उनले भने।
पार्टीमा 'जेन–जी' युवाको आकर्षण दाहालले पछिल्लो समय युवा पुस्ता, विशेष गरी 'जेन–जी' (Gen-Z) को आकर्षण आफ्नो पार्टीतर्फ ह्वात्तै बढेको जिकिर गरे। युवाहरूले आफ्ना विचार र भावनाको सही प्रतिनिधित्व गर्ने एक मात्र शक्ति नेकपा भएको बुझ्न थालेको उनको तर्क थियो। पेरिसडाँडामा आयोजित कार्यक्रममा पनि ठुलो सङ्ख्यामा युवाहरू नै पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनले यसले देशभर सकारात्मक सन्देश प्रवाह गरेको बताए। नयाँ पुस्तालाई स्वागत गर्दै दाहालले मुलुकको वृहत्तर हित र समृद्धिका लागि सधैँ तत्पर रहन र रचनात्मक भूमिका खेल्न आग्रह समेत गरे।