लौरो चिन्हमा 'बालेन भर्सेस स्वतन्त्र': एक हप्ताभित्र चिन्ह फिर्ता नगरे मेयरको घर घेर्ने चेतावनी
स्वतन्त्र अभियन्ताहरूको आरोप- बालेन रास्वपामा छिरेपछि लौरो उनको रहेन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
2.8k
Shares
काठमाडौँ। लौरो अभियान, स्वतन्त्र अभियान र जेन–जी अभियानले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै 'लौरो चुनाव चिन्ह' को दुरुपयोग भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। स्वतन्त्र उम्मेदवार र अभियन्ताहरूले केही सीमित व्यक्तिले यो चिन्हलाई व्यक्तिगत राजनीतिक स्वार्थ र 'बार्गेनिङ' को माध्यम बनाएको दाबी गरेका छन्।
बालेन शाहमाथि कडा प्रहार स्वतन्त्र अभियन्ताहरूले काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) शाहमाथि पनि गम्भीर प्रश्न उठाएका छन्। वक्तव्यमा भनिएको छ, "वालेन्द्र साह बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश नगर्दासम्म उनी लौरो अभियानका एक अंशियार थिए। तर जब उनी र उनको टिम दलगत राजनीतिमा प्रवेश गरे, त्यस क्षणदेखि लौरोमाथि उनको अधिकार समाप्त भएको छ।" अभियन्ताहरूले लौरो स्वतन्त्रहरूको प्रतीक र आस्थाको मन्दिर भएको भन्दै बालेन र उनको टिमले यो चिन्ह सुरक्षित रूपमा स्वतन्त्र समूहलाई फिर्ता गर्नुपर्ने माग गरेका छन्।
पार्टीको नाम परिवर्तनमा 'सौदाबाजी' को गन्ध गत निर्वाचनमा ३६७ जना स्वतन्त्र उम्मेदवारले साझा चिन्हका रूपमा प्रयोग गरेको 'हाम्रो नेपाली पार्टी' लाई केवल कानुनी प्रयोजनका लागि मात्र उपयोग गरिएको दाबी गरिएको छ। तर, पार्टी अध्यक्ष अनन्तराज घिमिरे र प्रवक्ता रोहन कार्कीले कुनै सहमति बिना नै पार्टीको नाम 'देश विकास पार्टी' बनाएको र दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने उद्देश्यले लौरो चिन्ह नै सौदाबाजी गरेको आरोप लगाइएको छ। निर्वाचन आयोगले समेत पदाधिकारीहरूको हस्ताक्षर सनाखत नगरी नाम परिवर्तन गरेको भन्दै यो प्रक्रियालाई अवैधानिक ठहर गर्न माग गरिएको छ।
एक हप्ताको अल्टिमेटम र आन्दोलनको चेतावनी स्वतन्त्र समूहले लौरो चुनाव चिन्ह एक हप्ताभित्र आफूहरूलाई आधिकारिक रूपमा फिर्ता गर्न अल्टिमेटम दिएको छ। यदि तोकिएको समयमा माग पुरा नभएमा 'देश विकास पार्टी' को कार्यालय र मेयर बालेनको घर वा कार्यालय अगाडि धर्ना तथा विरोधका कार्यक्रम गर्ने चेतावनी दिइएको छ। लौरो चिन्ह कुनै व्यक्तिको निजी सम्पत्ति नभई दलगत राजनीतिबाट दिक्क भएका नागरिकको विकल्पको प्रतीक भएको उनीहरूको जिकिर छ।