काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ । एकता सम्झौता गरेको दुई साता नपुग्दै दुई पार्टीका शीर्ष नेताहरुबीच भएको पटक पटकको संवाद निष्कर्षमा पुग्न सकेको छैन ।
बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निकटका नेताहरूले पनि रास्वपासँगको सहयात्रा सहज नहुने सुझाएका छन् ।
शुक्रबार रास्वपा सभापति रवि लामिछाने, घिसिङलगायतका नेताहरूबीचको छलफलले पनि कुनै निष्कर्ष निकाल्न सकेन ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार थुप्रै विषयमा कुरा मिल्न नसकेका कारण भावी यात्रा यसै भन्न सकिँदैन ।
रास्वपासँग पटकपटक संवाद भएको छ । तर उहाँहरू पेलेर जाने मनस्थितिमा हुनुहुन्छ । प्रारम्भमा भएका कतिपय भद्र सहमतिहररू पनि हाल आएर वेवास्ता गरिएको छ । थापाले वरीयता, समानुपातिक सूची, जिल्ला बाँडफाँड, केन्द्रीय सदस्य संख्यालगायतका विषयमा सहमति हुन नसकेको बताए ।
यता, घिसिङले भने शनिबार एकताका विषय शनिबार बेलुकासम्म टुङ्गो लगाउने प्रतिक्रिया दिएका छन् ।
शनिबार बिहान एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमति नभए उज्यालो नेपाल पार्टीबाट नै अघि बढ्ने संकेत गरेका छन् ।
केही विषय टुङ्गिन बाँकी रहेको र आज-भोलिमै त्यसको निर्णय गरेर अघि बढ्ने बताएका घिसिङले उज्यालो नेपाल पार्टी दर्ता भएर अगाडि बढेकाले अहिले देशको आवश्यकता र जनताको माग अनुसार एकता गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग एउटा समझदारी गरिएको उल्लेख गरे ।
उज्यालोका कार्यकर्ताहरूले उज्यालो नेपाल पार्टी अघि बनाउनुपर्छ भनेर कुलमानमाथि दबाब बढाइरहेका छन् ।
रास्वपासँग मिल्न नसकिने भएपछि दोस्रो विकल्पमा अघि बढ्नुपर्ने कार्यकर्ताहरूले सुझाव दिएका छन् । साथै एकता नै गर्नुपरे चुनावी एकता गर्न सुझाव दिएका छन् ।
यहि १४ पुसमा दुई पक्षीय छलफलपछि सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै दुई पार्टीबीच एकताको घोषणा गरिएको थियो ।
सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए भने साक्षीका रुपमा काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) थिए ।