arrow

सिमलताल दुर्घटनाको छ महिनापछि त्रिशूली किनारमा बसको अवशेष फेला, निकाल्ने प्रयास जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
simaltal-accident-place-82-.jpg

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत वर्ष पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला परेको छ। तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित नदी किनारमा बसको भाग देखिएपछि अहिले सुरक्षाकर्मी र स्थानीयको सहयोगमा त्यसलाई निकाल्ने प्रयास भइरहेको छ।

बस बेपत्ता भएको मुख्य स्थान सिमलतालबाट करिब २०० मिटर मात्रैको दूरीमा तनहुँतर्फको किनारमा बालुवामा पुरिएको अवस्थामा यो अवशेष भेटिएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार स्थानीयले माछा मार्ने क्रममा जाल अड्किएपछि खोतलेर हेर्दा बस जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक रूपमा निलो रङको देखिएकाले यो सिमलतालबाट हराएको 'गणपति डिलक्स' बस हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, बसलाई पूर्ण रूपमा निकालेर नम्बर प्लेट र अन्य पहिचान खुलेपछि मात्रै आधिकारिक पुष्टि हुने प्रहरीले जनाएको छ।

वि.सं. २०८१ असार २८ गते भएको सो भयानक दुर्घटनामा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा खसेका थिए। दुई बसमा सवार ६५ जनामध्ये ५१ जना अझै बेपत्ता छन् भने ११ जनाको शव विभिन्न स्थानमा फेला परेको थियो। तीन जनाले भने पौडिएर ज्यान जोगाएका थिए। लामो समयसम्म नेपाली तथा भारतीय उद्धार टोलीले खोजी गर्दा पनि फेला नपरेको बस अहिले संयोगवश फेला परेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ