arrow

पहाडी भेगमा आंशिक बदली, तराईमा यात्रा गर्दा सतर्क रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा केही परिवर्तन देखिएको छ।

यसको असरस्वरूप बुधबार बिहानैदेखि तराईका धेरैजसो स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदलीको अवस्था रहेको छ। देशका अन्य बाँकी क्षेत्रहरूमा भने मौसम मुख्यतया सफा रहेको जानकारी महाशाखाले दिएको छ।

आज दिउँसोको समयमा पनि तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो कायमै रहने सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने देखिए पनि अन्य ठाउँमा घाम लाग्ने र मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा भने तराईका थोरै स्थानहरूमा मात्र हुस्सु रहने र पहाडी तथा हिमाली भूभागहरूमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

बाक्लो हुस्सु र कुहिरोका कारण विशेष गरी बिहानको समयमा जनजीवन कष्टकर हुन सक्ने तथा स्वास्थ्य, पर्यटन, र हवाई एवं सडक यातायातमा समेत अवरोध पुग्न सक्ने सम्भावना छ।

चिसो बढ्दै गएको र दृश्यता कम हुने भएकाले यात्रा गर्दा र दैनिक क्रियाकलाप सञ्चालन गर्दा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ