नेपाली क्रिकेट टिम सुपर ८ मा पुगे २० लाख रुपैयाँ दिने डा सुनील शर्माको घोषणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
909
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा सुनील शर्माले आईसीसी टी-२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार आयोजना गरेको विश्वकप क्रिकेट खेल्न जाने टोलीको बिदाई कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् ।
डा. शर्माले क्रिकेटसँग आफू नजिक रहेको पनि बताए। उनले क्रिकेट टोलीको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरूले लिएको पनि जानकारी दिए ।
दुई वर्षका लागि क्यानसँग खेलाडी र उनीहरूको परिवारको उपचारको काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको उनको भनाइ छ ।
उनले उक्त सम्झौता सकिएपछि फेरि नवीकरण गर्नेसमेत जानकारी दिए । उनले निजी क्षेत्रलाई समेत समावेश गरि खेलाडीहरूलाई उचित पेन्सन सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे ।
उनले खेलाडीहरूको व्यवस्थापन गर्न राज्यले समयमा नै ध्यान दिनुपर्ने बताए । खेलाडीहरूले सन्यास लिए पनि आर्थिक अभावमा समस्या भोग्नुपर्ने स्थिति आउन नदिन सबैले ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘सुपर ८ सेभिङमा तपाईँहरू पर्नुभयो भने २० लाख रुपैयाँ लिएर तपाइँहरूसँग आउनेछौँ । चन्द दाइसँगको व्यक्तिगत कारणले पनि हामी क्रिकेटसँग नजिक भयौँ । तपाईंहरूको उपचारको जिम्मा हामीले लिएको छ, परिवारसहितको । दुई वर्षको सम्झौता हामीले गरेको होला, त्यो कहिले सकिन्छ, भन्नुस् । त्यसलाई हामी फेरि कार्यक्रम राखेर नविकरण गरिदिन्छौँ । राज्यलाई, सरकारलाई पनि म के आह्वान गर्न चाहन्छु भने निजी क्षेत्रहरूलाई पनि समावेश गराउँदै सरकारले खेलाडीहरूलाई पेन्सन उपलब्ध गराउनुपर्छ । अहिले खेल्दा खेल्दै त सुविधा होला, अझ यसलाई थप गर्ने र १० वर्ष खेलीसकेपछि के त? रिटायरमेन्ट । सरकारको जागिरबाट रिटायरमेन्ट हुने चाँही पेन्सन पाउने अनि दुनियाँभरि चिनाउने खेलाडीहरू जो हुनुहुन्छ, पुरुष या महिला । त्यो भाइबहिनीहरू खेलिसकेपछि फेरि अर्कोतिर जानुपर्ने स्थितिको अन्त्य होस् । पेन्सनको व्यवस्था होस् ।’
आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा हुने आईसीसी टी-२० विश्वकपमा सहभागी हुने खेलाडीहरूलाई बिदाइ गरिएको हो ।
टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिएका थिए ।