arrow

कांग्रेस नेता शंकर तिवारीको अपील

निर्धक्क अगाडि बढ्नु होस, फाल्गुन २१ गते कांग्रेस पहिलो पार्टी बन्नेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
shankar-tiwari-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर तिवारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस संसदको पहिलो शक्ति बन्ने दाबी गर्दै पार्टी पंक्तिलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न अपिल गरेका छन्। माघ ६ गते देशभर शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा उम्मेदवारहरूको मनोनयन सम्पन्न भएको सन्दर्भमा तिवारीले भदौ २३ र २४ को ‘जेन्जी आन्दोलन’ पछि हुन लागेको यस निर्वाचनलाई देश र पार्टी परिवर्तनको ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन्। 

आफूलाई भावी सांसदका रूपमा देख्न चाहने शुभेच्छुकहरू प्रति आभार व्यक्त गर्दै उनले यस पटक आफ्नो व्यक्तिगत उम्मेदवारीभन्दा पनि कांग्रेस र देशको रूपान्तरणको दीर्घकालीन लक्ष्य धेरै महत्वपूर्ण रहेको स्पष्ट पारेका छन्। पुस २७ देखि माघ ६ सम्मको समयलाई नेपाली राजनीतिक इतिहासको निर्णायक क्षणका रूपमा स्मरण गर्दै उनले विशेष महाधिवेशनपछि कांग्रेसमा नयाँ ऊर्जा र संकल्प पैदा भएको बताएका छन्।

विशेष अधिवेशनमार्फत नेतृत्व परिवर्तन हुनु सामान्य घटना नभएको उल्लेख गर्दै तिवारीले सभापति गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ जोश र उमंगका साथ निर्वाचनमा होमिएको दाबी गरे। टिकट वितरणका क्रममा देखिने गरेका विवाद र असन्तुष्टिहरूलाई थाती राखेर पार्टी एकतामा जोड दिन आग्रह गर्दै उनले मात्र ७२ घण्टाभित्र १६५ वटै निर्वाचन क्षेत्रमा सन्तुलन मिलाएर उम्मेदवार टुङ्ग्याउनु नयाँ नेतृत्वको असामान्य उपलब्धि भएको बताए। गणतन्त्र स्थापनापछि पहिलो पटक सबै १६५ निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न 'रुख' मा कांग्रेसका उम्मेदवारहरू खडा हुनुले यसपटक समानुपातिकतर्फको मत परिणाममा उल्लेख्य सुधार आउने र पार्टीको पकड बलियो हुने उनको विश्वास छ।

नेता तिवारीले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटमै विजयी गराउन सबै कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ गाउँगाउँमा पुग्न आह्वान गरेका छन्। कांग्रेसले लिएको परिवर्तनको संकल्प 'जेन्जी आन्दोलन' पछि अझ सशक्त बनेको उल्लेख गर्दै उनले फागुन २१ गतेको नतिजाले कांग्रेसलाई पुनः देशको मूल शक्तिका रूपमा स्थापित गर्ने जिकिर गरे। पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नयाँ नेतृत्वको कार्यशैलीले गर्दा यस पटक कांग्रेसले संसदमा पूर्ण बहुमत नजिकको सिट हासिल गर्ने उनको बलियो दाबी रहेको छ।

अपील
निर्धक्क अगाडि बढ्नु होस, फाल्गुन २१ गते कांग्रेस पहिलो पार्टी बन्नेछ

फाल्गुन २१ गते सम्पन्न हुने आम निर्वाचनका लागि देशभर अत्यन्त उत्साहका साथ शान्तिपूर्ण र हर्षोल्लासपूर्ण वातावरणमा माघ ६ गते उम्मेदवारहरुको मनोनयन सम्पन्न भएको छ । भाद्र २३÷२४ को जेनजी आन्दोलनको उथलपुथल पछि हुन लागेको यस निर्वाचनमा मलाई पनि सांसदको उम्मेदवारको रुपमा देख्न चाहनुहुने आशीर्वाद दिनुहुने सबै सबै शुभेच्छुकहरू प्रति कृतज्ञ छु र हार्दिक आभार प्रकट गर्दछु ।
मैले लिएको सुदूर राजनीतिक लक्ष्यका अगाडि प्रतिनिधि सभा निर्वाचनमा मेरो उम्मेदवारी हुनु या नहुनु गौण कुरा हो । आम निराशा र अन्योललाई चिर्दै काङ्ग्रेस बदलेर देशलाई बदल्ने जुन महान लक्ष्यमा हामी लागेका थियौँ, त्यो लक्ष्य प्राप्तिको नजिक पुगेको तथ्य तपाईँहरू समक्ष सार्वजनिक गर्न पाउँदा म अत्यन्त हर्षित छू ।
कांग्रेस बदल्ने मेरो संकल्प भाद्र २३ को जेन्जी उथलपुथल पछि झन् तीब्र भएर गएको थियो । त्यो काम अत्यन्त छोटो समयमा झन्डै आशातित, तिलश्मी र जादुमयी शैलीमा सम्पन्न भएको छ ।
पुस २७ देखि माघ ६ सम्मका १० दिनका प्रत्येक क्षण नेपाली इतिहासले फेरि फेरि दोहोराएर हेर्नेछ, खोतल्नेछ । नेपाली इतिहासको त्यो निर्णायक क्षणमा म जहाँ उभिए, त्यो क्षण सम्भव गराउन म जसरी लागे र उभिएँ, त्यो मेरो जिन्दगीको सबभन्दा गौरवका क्षणहरू हुन ।
नेपाली कांग्रेसको विशेष अधिवेशन सम्पन्न हुनु र नेतृत्व बदलिनु चानचुने घटना थिएन । आदरणीय सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ संकल्प, उमङ्ग जोश र जाँगर सहित आम निर्वाचनका लागि होमिएको छ ।
कांग्रेस बदलिएर देश बदल्ने यस महाअभियानमा तपाईंहरूको अझ ठूलो साथ र समर्थनको जरुरी छ । जडतामा अल्झिएको कांग्रेस एकैपटक बगेको छ, सफा कन्चन र निर्मल बनेर । तपाईँहरू निर्धक्क रहनुहोस् कांग्रेस पहिलो पार्टी बन्ने बन्नेछ । नेपाली राजनीतिमा नयाँ कीर्तिमान लेखिनेछ । निर्वाचनका कार्यक्रम प्रारम्भ भएसँंगै नेपाल नवनिर्माणको युग प्रारम्भ भएको छ । त्यसको पहिलो पाइला आगामी निर्वाचनको परिणामले निर्दिष्ट गर्नेछ ।
तसर्थ टिकट वितरणका बेला देखिएका तिक्तता र मनोमालिन्यतालाई बिर्सेर मजबुत र सर्वव्यापी एकता सहित बढ्नु कांग्रेसजनको ऐतिहासिक कार्यभार र दायित्व हुन आएको छ । पार्टीको आधिकारिकता निरूपण गर्ने बहानामा प्रायोजित र कृतिम विवाद खडा गरेर एउटा पक्ष न्यायालयको ढोका ढकढक्याएको बेला ७२ घण्टाको छोटो समय भित्र १६५ निर्वाचन क्षेत्रमा सबै खाले सन्तुलन कायम गरेर टिकट वितरण गर्ने कुरा झन्डै असामान्य कार्य थियो । टिकट वितरणका बेला देखिएका छिटपुट अलमल र विवाद साम्य हुने क्रममा छन् ।
गणतान्त्रिक संविधान जारी भएपछि पहिलो पटक १६५ निर्वाचन क्षेत्रमा रुखचिन्हमा मतदान गर्न पाउने गरी कांग्रेसका उम्मेदवारहरू खडा गरेको छ । यसले विगत निर्वाचनहरूमा नेपाली कांग्रेसको समानुपातिक तर्फ खुम्चिएको हिस्सालाई रोक्न सहज गराउने छ ।
नवनिर्वाचित नेतृत्वको संयम, धैर्यता र उदारताका कारण कतै २०५१ सालको मध्यावधिको विग्रह त हुने होइन भन्ने संशय भएको बेला हामी २०४८ सालतिरकै परिणाम तर्फ उन्मुख भएका छौँ । नेपाली राजनीतिमा नेपाली कांग्रेसको सर्बोपरिता पुन एकपटक स्थापित हुने आधार तय भएको छ ।
तसर्थ, नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका रूपमा रुख चुनाव चिन्ह लिएर तपाईंहरूका बीचमा आउनु भएका पार्टीका उम्मेदवारलाई पार्टी पंक्तिका सबै साथीहरू एकताबद्ध भई निर्वाचन अभियानमा लाग्न, देशभरका प्रत्यक्ष तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा र ११० समानुपातिक सिटमा अत्यधिक मतका साथ विजयी गराउन हार्दिक अनुरोध तथा अपिल गर्दछु ।
आदरणीय नेता गगन थापाको नेतृत्वमा फागुन २१ गते नेपाली कांग्रेस राष्ट्रिय शक्तिको हैसियतमा गौरवमय ऐतिहासिक परम्परा कायम गर्दै संसदको पहिलो शक्ति भएर उदाउनेछ ।
जय नेपाल !
शंकर तिवारी
माघ ७, २०८२



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ