सुनील शर्माको अपील - मलाई ७० हजार मत दिएर जिताउनुस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
744
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं ३ का उम्मेद्वार डा. सुनील शर्माले आफूलाई ७० हजार मत दिएर जिताउन मतदाताहरूसँग आग्रह गरेका छन् ।
आफूलाई मोरङ निर्वाचन क्षेत्र नं ३ का जनताले यसअघि पनि तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै आगामी निर्वाचनमा सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको बताए ।
सबैभन्दा बढी मत पाएसँगै संसदमा बोलिने आवाज बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा पनि महत्वका साथ हेरिने उनको भनाइ छ ।
नयाँ राजनीतिक दलहरूप्रति लक्षित गर्दै उनले अहिले एक किसिमको कोरोना भाइरस नै रहेकाले यस्तो समयमा पनि सबैभन्दा बढी मतका साथ विजयी हुनुले महत्वपूर्ण अर्थ राख्ने जिकिर गरे ।
७० हजार मत ल्याएर निर्वाचित भएको सांसदले उठाएका आवाजहरूले जनताको नीति निर्माणमा धेरै सहजता ल्याउने बताए ।
उनले भने, ‘यो क्षेत्रका जनताले मलाई ७० हजार बढी मतले तपाईंहरूले जिताएर पठाइदिनुस्। यस्तो हावाहुण्डरीमा नेपालको सबैभन्दा बढी मत लिएर गएको सांसदको महत्व छुट्टै हुन्छ । यो पनि कोरोना नै हो । यो हुण्डरीमा माटो कोरोना, घण्टी कोरोना, को नि के कोरोना । हाम्रा नेताहरूको लुटपाट भएको कोरोना । कोरोना महामारी छ नि त अहिले । यो महामारीमा पनि सबैभन्दा बढी मतका साथ विजयी गराउनु भयो भने त्यसको महत्व छुट्टै हुन्छ । ७० हजार बढी मत दिनुभयो भने त्यो सबैभन्दा धेरै हुन्छ । मैले रोष्ट्रममा उभिएर बोल्दा यो देशलाई थुरुरु पार्न सकिन्छ । कानूनहरू जनताका लागि परिवर्तन गर्न सकिन्छ । क्षेत्र नं ३ को आवाज ठूलो हुन्छ । त्यसले नीति निर्माणमा महत्वपूर्ण हुन्छ ।’
नेता शर्माले नेपाललाई शान्तिको देश बनाउन जरुरी रहेको बताए ।