arrow

कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’, सुशासन र विकासलाई प्राथमिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
congress------------.jpg

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो चुनावी सङ्कल्पका रूपमा ‘भिजन–१०’ अवधारणालाई अघि सार्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेसको आगामी घोषणापत्रले मुलुकको यथार्थ अवस्थाको चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने जानकारी दिएका छन्।

प्रवक्ता चालिसेका अनुसार यस पटकको घोषणापत्र केवल महत्त्वाकाङ्क्षा र प्रतिबद्धताको फेहरिस्तमा मात्र सीमित रहने छैन। यसलाई कार्यान्वयन गर्न आवश्यक पर्ने आर्थिक स्रोतको सुनिश्चितता र परिचालनका उपायहरूसमेत स्पष्ट रूपमा उल्लेख गरिने उनले बताए। "हामीले घोषणापत्रमा गर्न सकिने कुरा मात्र राख्नेछौँ र त्यसका लागि स्रोत व्यवस्थापन कसरी हुन्छ भन्ने ठोस मार्गचित्र पनि समेट्नेछौँ," उनले भने।

हाल घोषणापत्र निर्माणका लागि कांग्रेसले देशभरका जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन कार्यलाई तीव्रता दिएको छ। स्थानीय तह, क्षेत्र र जिल्लाबाट प्राप्त सुझावहरूलाई एकीकृत गरी राष्ट्रिय आवश्यकता र प्राथमिकतासँग जोडेर अन्तिम रूप दिइने पार्टीको तयारी छ।

प्रवक्ता चालिसेले कांग्रेसले आफ्नो क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रमहरू मात्र जनतामाझ लैजाने बताए। उनले यो घोषणापत्रले हरेक नागरिकको मन छुने तथा सबै वर्ग, क्षेत्र र समुदायको भावनालाई समेट्ने दाबी गरे। कांग्रेसले घोषणापत्रमार्फत वर्तमान चुनौतीको सामना र भविष्यको दिशा निर्देश गर्दै स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाकासहितको विश्वासिलो विकल्प प्रस्तुत गर्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ