पश्चिमी वायुको प्रभावले विभिन्न स्थानमा मध्यम वर्षा र हिमपात, काठमाडौँ बिहानैदेखि धुम्म
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
799
Shares
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भू-भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा पूर्णतया बदली रहनेछ भने पहाडी तथा तराईका बाँकी भेगमा पनि बादल लाग्ने देखिन्छ। यसैगरी, उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा मध्यम हिमपात र वर्षा हुने प्रक्षेपण गरिएको छ।
विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती, मधेस र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने अनुमान छ।
रातिको समयमा भने देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका सीमित स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।
हिमपात र वर्षाका कारण नागरिकको दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको छ। चिसो बढ्ने र यात्रामा अवरोध हुन सक्ने परिस्थितिलाई दृष्टिगत गर्दै महाशाखाले सम्बन्धित सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।
यता काठमाडौँ बिहानैदेखि धुम्म छ । चिसो बढेको छ । वर्षा हुने सम्भावना कायम रहेको महाशाखाले जनाएको छ । मौसम धुम्म भएसँगै चहलपहल कम रहेको छ ।