कांग्रेस सुध्रियो, अल्मलिएको कांग्रेसको विरासत हामी बोक्दैनौँः प्रवक्ता चालिसे
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
2.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यलाई सँगसँगै लिएर आगामी निर्वाचनमा होमिने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको नीति र कार्यशैली पूर्ण रूपमा परिवर्तन भइसकेको र अब नयाँ जोशका साथ मुलुक निर्माणमा लाग्ने दाबी गरे।
चालिसेले पछिल्लो समय अलमलिएको अवस्थामा रहेको पार्टीको विरासतलाई अबको कांग्रेसले नबोक्ने जिकिर गर्दै नयाँ बाटो तय गरिएको स्पष्ट पारे।
अहिलेको कांग्रेस बदलिएको मात्र नभई नयाँ अठोट र स्पष्ट नीतिका साथ आएको उल्लेख गर्दै उनले पार्टीभित्र युवाहरूको नयाँ जोश थपिएको बताए।
प्रवक्ता चालिसेले विगतको केही समय पार्टी अलमलिएको स्वीकार गर्दै अबको नेतृत्व त्यसको जवाफदेही नहुने र ती कमजोरीहरूको पुनरावृत्ति हुन नदिने प्रतिबद्धता जनाए। उनले अबको कांग्रेसलाई वि.सं. २००७ सालमा बीपी कोइरालाले दिएको योगदान र आदर्शसँग जोडेर अघि बढाउन चाहेको बताए।
पार्टीलाई हरेक वर्ग, क्षेत्र र समुदायको साझा चौतारी बनाउने लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ छ। नवीनता र सुधारको एजेन्डा बोकेर चुनावमा जान लागेको भन्दै चालिसेले कांग्रेस अब भरपर्दो भिजनका साथ जनताको माझमा जाने दाबी गरे।
बितेका समयका गल्तीहरूलाई बिर्सिएर पार्टीलाई नयाँ उचाइमा पुर्याउनु नै आफूहरूको मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे।