काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमा पार्टीका उम्मेदवार खगेन्द्र सुनारका विषयमा व्यक्त भएका चासो र विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
पार्टीले नेपालको संविधान, प्रचलित कानुन र सामाजिक-सांस्कृतिक संवेदनशीलताप्रति आफू सधैँ सजग रहेको स्पष्ट पारेको छ। उम्मेदवार सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही अभिव्यक्तिका कारण समाजमा उत्पन्न अन्योल र धार्मिक-सांस्कृतिक भावनामा पुगेको ठेसप्रति सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु-पङ्क्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा आफूलाई कुनै द्विविधा नरहेको कुरा स्पष्ट पारिसकेका छन्।
रास्वपाले सामाजिक सञ्जालमा उनका पुराना प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार गरिएको दाबी गरे पनि त्यसबाट उत्पन्न भ्रम र भावनात्मक चोटप्रति उम्मेदवारले आत्मलोचना गर्दै माफी मागेको जनाएको छ। पार्टीले सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा आफू आश्वस्त रहेको पनि बताएको छ।
साथै, पार्टीले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न सचेत गराएको छ।
रास्वपाले आफ्नो विधानले नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्म मानेको स्मरण गराएको छ। नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकता अक्षुण्ण राख्न पार्टी सधैँ कटिबद्ध रहने प्रतिबद्धता पनि रास्वपाले व्यक्त गरेको छ।