उच्च पहाड र हिमालमा हिमपातको सम्भावना, तराईमा हुस्सुको सास्ती
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
811
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बादल लागेको छ भने तराईका केही स्थानहरूमा बाक्लो हुस्सु लागेको छ।
आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र गण्डकी, कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने देखिएको छ। तराईका बाँकी भागमा भने मौसम मुख्यतया सफा रहनेछ, तर देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ।
आज राति पनि मौसमको अवस्था उस्तै रहने अनुमान गरिएको छ। हिमाली भागमा बादल लाग्ने र पहाडी क्षेत्रमा आंशिक बदली भए पनि तराईमा भने मौसम सफा रहनेछ। उच्च पहाडी र हिमाली भेगमा राति पनि हल्कादेखि मध्यम हिमपात र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हिमपात र वर्षाका कारण ती क्षेत्रमा चिसो अझै बढ्ने देखिएको छ।
तराईमा लाग्ने हुस्सु र कुहिरोका साथै हिमाली क्षेत्रको हिमपातले जनजीवनमा प्रभाव पार्ने देखिएको छ। महाशाखाले यसबाट विशेष गरी पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। चिसोबाट बच्न र यात्रा गर्दा सावधानी अपनाउनु पर्नेमा मौसमविद्हरूले जोड दिएका छन्।