arrow

पश्चिमी वायुको प्रभाव: उच्च पहाडमा हिउँ पर्ने, तराईमा कुहिरो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भागमा भने आंशिक बादल लागेको छ। 

आज दिउँसो तराईका केही स्थानमा बाक्लो कुहिरो लाग्ने सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने देखिएको छ। ती प्रदेशका केही उच्च पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

आज राति पनि तराईका केही स्थानमा कुहिरोले जनजीवन प्रभावित पार्ने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बादल लागे पनि बाँकी भागको मौसम भने मुख्यतया सफा रहने छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भागमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेको छ। 

पहाडी क्षेत्रमा बढ्दो बादल र हिमपातका कारण तापक्रममा गिरावट आउन सक्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा र स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने चेतावनी दिएको छ। विशेष गरी हवाई तथा सडक यातायातमा कुहिरो र हिमपातले अवरोध सिर्जना गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्क रहन सम्बद्ध सबैमा आग्रह गरिएको छ। चिसो बढ्दै जाँदा वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने र उच्च पहाडी क्षेत्रमा जाने पर्यटकहरूले मौसमको जानकारी लिएर मात्र अघि बढ्नुपर्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ