arrow

पश्चिमी वायुको प्रभाव: तराईमा कुहिरो र हुस्सु, पहाडमा मौसम सफा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ। तराईका केही स्थानमा बिहानैदेखि तुवाँलो लागेका कारण जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका धेरैजसो स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली क्षेत्रमा भने दिउँसोको समयमा मौसम प्रायः सफा रहने र घाम लाग्ने देखिएको छ।

आज राति पनि तराईका केही क्षेत्रमा कुहिरो लाग्ने क्रम जारी रहनेछ भने पहाडी र हिमाली भेगमा मौसम सफा नै रहने महाशाखाले जनाएको छ। चिसो बढ्ने र भिजिबिलिटी कम हुने भएकाले विशेष गरी तराईको जनजीवन बढी प्रभावित हुने देखिन्छ। महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक कामकाज, पर्यटन, पदयात्रा र स्वास्थ्यमा समेत असर पर्न सक्ने भन्दै सबैलाई सजग रहन आग्रह गरेको छ। हवाई तथा सडक यातायातमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन उनीहरूले सल्लाह दिएका छन्।

पछिल्लो समय बदलिएको मौसमका कारण चिसोबाट बच्न र स्वास्थ्यको ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। तराईमा लाग्ने बाक्लो कुहिरोले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले सवारी चालकहरूलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ। पहाडी क्षेत्रमा मौसम सफा भए पनि बिहान र बेलुकाको समयमा चिसो निकै बढ्ने हुनाले न्याना लुगा लगाउन र आगो ताप्दा सावधानी अपनाउन जरुरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ