तोकिएकै मितिमा चुनाव गरेर म घर फर्किने हो : सुशीला कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
805
Shares
तस्बिर फाइल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेकी छन्। बिहीबार मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेकी हुन्। उनले निर्वाचन दुई चरणमा नभई एकै चरणमा हुने भन्दै यसमा कसैले शङ्का गर्नुपर्ने ठाउँ नरहेको प्रस्ट पारिन्।
निर्वाचनको समयमा सबैतिरको मौसम अनुकूल रहने विश्वास व्यक्त गर्दै उनले सबै मतदाताले निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण बन्ने बताइन्। निर्वाचन सम्पन्न भएपछि नयाँ निर्वाचित प्रतिनिधिसभालाई सत्ता हस्तान्तरण गरेर आफूहरू घर फर्किने उनले जानकारी दिइन्।
अनुगमनका क्रममा उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग र आयुक्तहरूले खेलिरहेको भूमिकाको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद समेत दिइन्। "ढुक्क र निश्चिन्त हुनुस्, चुनाव एकै दिनमा हुन्छ र तोकिएकै मितिमा हुन्छ," उनले भनिन्। उनले निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको र मतपत्र छपाइको कामले पनि गति लिएको देख्दा आफू उत्साहित भएको बताइन्। सरकारले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने भएकाले जनतालाई निर्धक्क भएर चुनावी उत्सवमा सहभागी हुन उनले अपिल गरिन्।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालको मुख्य जिम्मेवारी नै निर्वाचन सम्पन्न गराउनु रहेको र त्यो कार्य पुरा हुने अन्तिम चरणमा पुगेको उल्लेख गरिन्। उनले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिक निर्वाचन अनिवार्य रहेको भन्दै यसले नयाँ नेतृत्व जन्माउने र देशलाई स्थिरताको बाटोमा लैजाने दाबी गरिन्।