धादिङको महादेवबेँसीमा दुई बस ठोक्किए: अनियन्त्रित बस चिया पसलमा पस्दा एक जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
624
Shares
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर भीषण दुर्घटना भएको छ। काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस आज बिहान आपसमा ठोक्किएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक शिशिर थापाका अनुसार ठक्कर खाएपछि अनियन्त्रित भएको बस सडक किनारामा रहेको एक चिया पसलमा छिर्न पुगेको थियो। चिया पसलमा बस ठोक्किँदा त्यहाँ रहेका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरी निरीक्षक थापाले दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको पहिचान अहिलेसम्म खुल्न नसकेको जानकारी दिएका छन्। दुईवटा बस ठोक्किएर भएको यो दुर्घटनामा घाइते हुने यात्रुहरूको सङ्ख्या पनि अहिलेसम्म यकिन भइसकेको छैन। दुर्घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीको टोली उद्धार कार्यमा खटिएका छन्।
घाइतेहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्था तथा काठमाडौँ पठाउने तयारी भइरहेको छ। सडकमा दुर्घटनाग्रस्त बसहरू रहेका कारण पृथ्वी राजमार्गको यातायात केही समय प्रभावित भएको भए पनि अहिले सडक खुलाउने प्रयास जारी छ।
प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान सुरु गरेको छ। तीव्र गतिका कारण मोडमा बसहरू नियन्त्रण बाहिर गएर ठोक्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने उनका आफन्तहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। राजमार्गमा सवारी चलाउँदा विशेष सावधानी अपनाउन र ट्राफिक नियमको पालना गर्न प्रहरीले सबै चालकहरूलाई आग्रह गरेको छ।