रास्वपा सर्लाही ३ का उम्मेदवार साहमाथि क्यासिनो मार्फत पाँच करोड २९ लाख ठगीको आरोप
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
2.1k
Shares
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोले पाँच करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रहेका क्यासिनोका सञ्चालक नरेन्द्र साहले ऋणीहरूको रकम फिर्ता नगरेको तथा कर्मचारीलाई तलब नदिएपछि समस्या उत्पन्न भएको हो ।
क्यासिनोका कर्मचारी तथा ऋणीहरूबाट उठाइएको रकम फिर्ता नगरिएको भन्दै पीडित पक्ष आन्दोलीत भएका छन् । गत बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले विश्वासका आधारमा कर्मचारीमार्फत क्यासिनोलाई दिएको ऋण फिर्ता नपाएको बताएका छन् । क्यासिनोले नियमित कारोबारका लागि स्थानीय व्यवसायी तथा सेवाग्राहीबाट रकम लिने गरेको उनीहरूको भनाइ छ ।
क्यासिनोमा लामो समय काम गरेका राजेन्द्र कुमारले आफूले दिएको १० लाख रुपैयाँ फिर्ता नपाएको बताए । उनले तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठ (हिमाल) मार्फत आर्थिक समस्यामा परेको भन्दै क्यासिनोलाई उक्त रकम ऋण दिएका थिए । ‘व्यक्तिगत विश्वासका आधारमा सहयोग गरेको हुँ’, उनले भने, ‘तर अहिले पैसा माग्दा सञ्चालकले अटेर गरिरहेका छन् ।’
त्यस्तै क्यासिनोमा पुजारीको काम गर्दै आएका भोजराज भट्ट (पुजारी बाजे) ले ३४ लाख रुपैयाँ फिर्ता नपाएको गुनासो गरेका छन् । ‘क्यासिनोले बेला–बेला रकम सापटी लिने र समयमै फिर्ता गर्ने गर्थ्यो’, उनले भने, ‘त्यही विश्वासका आधारमा तीन पटकमा गरी ३४ लाख रुपैयाँ सापटी दिएको थिएँ ।’
त्यसैगरी क्यासिनोमा डान्स म्यानेजरको रूपमा कार्यरत नवराज श्रेष्ठले पनि ४० लाख रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेका छन् । उनले आठ लाख नगदसहित १७ महिनाको डान्सरहरूको तलब नपाएको बताएका छन् । उनले सञ्चालक साहसँग पैसा माग्दा जागिर छोडेर जान धम्की दिने गरेको उनको आरोप छ । क्यासिनोमा ठूलो पैसा डुबेकाले आफूले जागिरसमेत छोड्न नसेको उनको दुखेसो छ ।
तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठका अनुसार सञ्चालक साहले ०८१ भदौदेखि नियमित हिसाब नबुझेपछि ठगीको घटना सार्वजनिक भएको हो । ‘क्यासिनोमा नगद अभाव हुँदा स्थानीय व्यवसायी तथा विश्वासिला सेवाग्राहीबाट सापटी लिएर कारोबार चलाउने गरेको उनको भनाइ छ । ‘पछिल्ला १७ महिनामा सञ्चालकले मासिक हिसाब लिएनन् । उहाँकै निर्देशनमा उठाइएको रकम पठाइएको हो’,उनले भने,‘सापटी लिएको रकम क्यासिनोको नियमित खर्च र सञ्चालक साहले मागेका बेला उनकै खाता पठाइदिएका थियौँ ।’
श्रेष्ठका अनुसार विभिन्न व्यक्तिहरूको ठूलो रकम क्यासिनोले तिर्न बाँकी छ । शान्ति पाण्डेयको ३९ लाख, लिल गुरुङको ३४ लाख, मानवती पालको २० लाख, गणेश टेरको २० लाख, कविता जोशीको १८ लाख, राम पन्तको १५ लाखलगायत २० जनाको गरी कूल पाँच करोड २९ लाख रुपैयाँ बाँकी रहेको उनले बताए ।
त्यस्तै भारतीय नागरिक सञ्जीव गान्धीको २९ लाख र सदाबको २० लाखसहित करिब दुई करोड ३६ लाख रुपैयाँसमेत तिर्न बाँकी रहेको उनको भनाइ छ । जसमा केही रकम भने फिर्ता गरिएको छ । साह ०७९ मा सर्लाही–३ बाट माओवादी केन्द्रका उम्मेदवार बनेका थिए । उनी यस पटक रास्वपाका उम्मेदवार हुन् ।