प्रतिनिधि सभाका लागि कांग्रेसको समावेशी सूची तयार: आदिवासी जनजाति र खस-आर्यलाई प्राथमिकता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
772
Shares
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फको समानुपातिक सूचीका २० जना सांसदको नामावली टुङ्गो लगाएको छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समावेशी क्लस्टरका आधारमा उम्मेदवारहरूको नाम चयन गरेको हो।
सङ्घीय संसद्मा महिलाको ३३ प्रतिशत अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण कांग्रेसले प्राप्त गरेका २० सिटमध्ये १५ सिटमा महिलाको नाम सिफारिस गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
विभिन्न क्लस्टरहरू मिलाएर तयार पारिएको सूचीमा आदिवासी जनजातिबाट ६ जना र खस–आर्यबाट ६ जनाको प्रतिनिधित्व गराइएको छ। त्यसैगरी थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट बाँकी ५ जना समावेश गरी कुल २० जनामध्ये १५ महिला र अन्य समावेशी कोटाबाट सांसद छानिएको प्रवक्ता चालिसेले बताए। पार्टीले निर्णय गरेका यी नामहरू आजै निर्वाचन आयोगमा बुझाइने र आयोगले रुजु गरेपछि मात्रै नामावली सार्वजनिक गरिने उनको भनाइ छ।
प्रवक्ता चालिसेका अनुसार यसअघि नै बुझाइएको बन्दसूचीमा आधारित रहेर नामहरू चयन गरिएको र यसमा धेरै फेरबदल गर्ने सुविधा नभए पनि केही क्लस्टर तलमाथि परेमा सच्याउने विकल्प रहेको छ। यसका साथै हालै सम्पन्न निर्वाचनको समीक्षा गर्नका लागि केही दिनभित्रै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाउने तयारी भइरहेको कांग्रेसले जनाएको छ।