कम्बोडियाबाट २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
652
Shares
काठमाडौँ। कम्बोडियामा अनलाइन ठगी तथा अन्य गैरकानूनी काममा फसेका २० नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरू बिहीबार नेपाल आइपुगेका हुन् ।
उद्धार गरिएका नेपाली विभिन्न व्यक्तिको प्रलोभनमा परेर कम्बोडियामा पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा प्रयोग भएका थिए । केहीलाई अन्य गैरकानूनी काममा समेत लगाइएको थियो ।
कम्बोडियामा रहेका नेपालीहरूको राहदानी जफत हुने, स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराउने जस्ता समस्या भइरहेका कारण नेपाली राजदूतावास बैंककले आवश्यक परेमा उद्धारका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्दै आएको छ ।
कम्बोडियाको पर्यटन तथ्याङ्कअनुसार नेपालीहरूको कम्बोडिया भ्रमणमा निरन्तर वृद्धि देखिन्छ ।
सन् २०२१ मा १०१ जना नेपाली पुगेका थिए भने सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ नेपाली कम्बोडिया पुगेका थिए ।
नेपाल सरकारले तोकेका मापदण्डअनुसार मात्र वैदेशिक रोजगारीमा जानुपर्ने र कसैको प्रलोभनमा परेर छिटो तथा धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डजस्ता देशमा भ्रमणको बहानामा नजान सबैमा दूतावासले चेतावनी दिएको छ । रासस